अर्थमन्त्रीको प्रतिबद्धता: निजी क्षेत्रको आत्मविश्वास बढाउने छौं



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् ।

मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताए । उनले सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको बताए ।

साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवर्द्धन गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो । उनले यसको निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे।

‘यो सरकार निजी क्षेत्रको आत्मविश्वास, मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको छ । हामी भर्खर आएका छौँ । आइसकेपछि उत्पादनको अवस्था के छ ? रोजगारीको अवस्था के छ ? व्यवसायीका समस्याहरु के छन् ? तिनलाई हामीले एकपछि अर्को जानकारी लिने, छलफल गर्ने कामहरु गरिरहेका छौँ,’ अर्थमन्त्री पौडेलले भने ।

व्यवसायीहरुका लागि अनुकुल परिस्थिति निर्माण गर्ने । खासगरी घरेलु तथा साना उद्योगलाई देशका सबै जिल्ला, सबै पालिकामा विस्तार गर्ने र यसले स्वरोजगारका लागि योगदान दिने उनको भनाइ थियो ।
पौडेलले भनेका छन्, ‘अझै यसलाई विस्तार गर्ने सम्भावना छ । स्वरोजगारीका निम्ति पनि महत्वपूर्ण माध्यम हो । त्यस हिसावले सरकारले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ । त्यसका निम्ति कानूनका, नियमका, निर्देशिकाका, निर्णयका सन्दर्भमा के–कस्ता कुरामा ध्यान दिनुपर्छ त्यसमा ध्यान दिउँला ।’

घरेलु तथा साना उद्योग व्यवसायीहरुले ऐन, कानूनमा सुधार गर्न चाहेको बुँदाहरुको सम्बन्धमा लिखित रुपमा सुझाव दिन पनि उनले आग्रह गरेका थिए ।


क्लिकमान्डु