अर्थतन्त्र गतिशील बनाउन मौद्रिक नीति सजगतापूर्वक लचिलो



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो हुने बताइएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति उपर्युक्त वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको उल्लेख गरेका छन् ।

उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै गभर्नर अधिकारीले वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरु तर्जुमा गरेको बताएका छन् । उनले समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरुबीच तादात्म्यता कायम गरिएको पनि बताए।

मौद्रिक नीतिको कार्यदिशा गत आर्थिक वर्षको सजगतापूर्वक लचिलो नीतिलाई यो वर्ष पनि निरन्तरता दिइएको हो । गत वर्ष पनि वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता राखिएको उल्लेख गरिएको थियो ।

ठूला कर्जाहरुको अनुगमन, नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको अधिकेन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिकता दिने र कर्जाको गुणस्तर तथा पहुँच अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवर्द्धन गर्नेतर्फ मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी नियामकीय नीतिहरु तर्जुमा गर्ने गरी गत वर्षको मौद्रिक नीति आएको थियो ।


क्लिकमान्डु