नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने विधेयकबारे जानकारी गराउन संसदीय समितिको निर्देशन



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो । बैठकमा बोल्दै समिति सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई सन् २०२२ को आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिए ।

समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए ।

प्राधिकरण टुक्राएर नियामक र सेवा प्रदायक बनाउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो ? सो बारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि उनले निर्देशन दिए ।

कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई समितिले निर्देशन दिएको छ ।

यति एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन उनले निर्देशन दिए ।

ईयूको कालोसूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत समितिले मन्त्रीलाई निर्देशन दिएको छ ।

सभापति यादवले यसो भने

आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ । अब समितिले पत्र लेख्न नपरोस् । अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु । प्राधिकरण विधेयक कहाँ छ । कुन अवस्थामा छ । मन्त्रीको पहल कदमीमा मन्त्रीपरिषद्बाट सदनमा आउन सक्छ की सक्दैन । मन्त्रीलाई प्राधिकरण विधेयकमा समस्या भयो । समितिलाई जानकारी गराउनुस् प्रधानमन्त्रीसँग कुरा गर्नुपरे पनि समितिले कुरा गर्नेछ । अर्को बैंठकमा आउँदा उक्त विधेयकको विषयमा सही जानकारी गराउनुपर्‍‍यो । इयु सेफ्टी लिस्टको विषयमा डेढ वर्ष भयो । अब हामीले रिजल्ट हेर्ने हो । अर्को बैठकमा आउँदा इयु सेफ्टी लिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौं । तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु । कोरियन एयरलाइन्सको विषय दुई देशको कुरा हो । कोरियन एयरलान्इस नेपाल आउने तर नेपाली एयरलाइन्स कोरिया जान केके गर्नुपर्छ । नेपालको जहाज कोरिया कसरी जाने त्यो सम्बन्धि केके गर्नुपर्छ र मैले यसरी का गदैछु भन्ने कार्ययोजनासहित आउन मन्त्रीलाई निर्देशन गर्दछु । पोखरामा दुर्घटना भएको यति एयरलाइन्स विमानको छानविन आयोगले दिएको प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक हप्ताभित्र समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु ।


क्लिकमान्डु