तीन महिनाभित्र बक्यौता तिर्ने शर्तमा आजै ६ वटै उद्योगको लाइन जोडिने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६ वटै उद्योगमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिले दिएको निर्देशनका आधारमा मंगलबार साँझ (आज) लाइन जोड्ने निर्णय भएको हो ।

‘तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा पुन: बक्यौता असुल उपर गर्न कारबाही अघि बढाउने गरी विद्युत नियमन आयोगको निर्देशन अनुसार उद्योगहरुको विद्युतको लाइन जोडिने,’ प्राधिकरणको निर्णयमा भनिएको छ, ‘लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ ।’ आइतबार विद्युत नियमन आयोगले लाइन जोड्न निर्देशन दिएको थियो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शर्तसहित उद्योगमा लाइन जोड्ने  माइन्युट तयार पारेका थिए । मंगलबार दिउँसो साढे १२ बजे ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा बसेर माइन्युट तयार पारेका हुन् । सोमबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले घिसिङलाई माइन्युट लेख्ने जिम्मेवारी दिएको हो ।

करिब १:१० बजे मन्त्रालयमा माइन्युट तयार भएर अघि बढेको छ । माइन्युटमा प्राधिकरणका अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का, सदस्यसमेत रहनुभएकी ऊर्जा सचिव दवाडी र सदस्यसचिव समेत रहेका प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।

प्राधिकरणले बक्यौता नतिरेको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट,  अर्घाखाँची,जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टील लाइन काटिदिएको थियो । आजै सबै उद्योगको लाइन जोडिनेछ ।


क्लिकमान्डु