कुलमानले तयार पारे शर्तसहित बिजुली जोड्ने माइन्युट, सञ्चालकहरुको हस्ताक्षरपछि लाइन जोडिने



काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शर्तसहित उद्योगमा लाइन जोड्ने  माइन्युट तयार पारेका छन् ।

मंगलबार दिउसो साढे १२ बजे ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा बसेर माइन्युट तयार पारेका हुन् । मन्त्रालयमा ऊर्जामन्त्री दीपक खड्का, राजस्व सचिव डा.रामप्रसाद घिमिरे, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव सरिता दवाडीलगायत सहभागि थिए ।

सोमबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले घिसिङलाई माइन्युट लेख्ने अधिकारी दिएको थियो । बैठकमा सबैजसो सञ्चालक समितिका सदस्यहरु  लाइन जोड्न सहमत भएका  थिए । तर लाइन जोड्ने निर्णय भने गर्न सकेनन् ।

‘विद्युत नियमन आयोगले लाइन जोड्न निर्देशनसहितको चिठ्ठी पठायो । उक्त चिठ्ठी उपर छलफल गर्न बैठक बस्यो । आयोगको चिठ्ठीका आधारमा हामीले लाइन जोड्ने निर्णय गर्न सकेनौं,’ सञ्चालक समितिका एक सदस्यले भने, ‘मन्त्रिपरिषदले लिखित नदिएकाले हामीले केहि निर्णय गरेनौं । कानुनी सल्लाह गरेर मात्रै माइन्युट तयार पार्न कुलमान सरलाई जिम्मा दियौं ।’

‘करिब १:१० बजे मन्त्रालयमा माइन्युट तयार भएर अघि बढेको छ । माइन्युटमा प्राधिकरणका अध्यक्षा ऊर्जामन्त्री खड्का, सदस्यसमेत रहनुभएकी ऊर्जा सचिव दवाडी र सदस्यसचिव समेत रहेका प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन्,’ ऊर्जामन्त्री निकट स्रोतले भन्यो- ‘सबै सञ्चालकले हस्ताक्षर गरेपछि कुलमान घिसिङको सचिवालयले पत्र वितरण तथा ग्राहक सेवा निर्देशनालयलाई पठाउँछ । निर्देशनालयले उक्त पत्र अनुसार काम गर्छ । अर्थात् लाइन जोडिन्छ ।’

उनले लाइन जोड्नका लागि केहि शर्तहरु तोकिएको बताए । जसमा ३ महिनामा उद्योगीहरुलाई बक्यौता तिर्न समय दिने समेत उल्लेख छ । मंगलबार माइन्युट तयार भएको भए पनि माइन्युटको मिति भने सोमबारकै राखिएको छ ।

प्रधानमन्त्री ओलीले उद्योगी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसँग छलफलपछि शुक्रबार नै लाइन जोड्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको मौखिक र विद्युत नियमन आयोगको लिखित निर्देशनपछि चरम दबाबमा रहेको प्राधिकरणको सञ्चालक समितिले सोमबारको बैठकले पनि लाइन जोड्ने औपचारिक निर्णय गर्न सकेको थिएन । ऊर्जामन्त्री खड्काले तत्कालै लाइन जोड्ने र प्रक्रियापछि गर्ने बताएपनि उक्त निर्णयमा सञ्चालकहरु सहमत भएनन् ।

अब भने उद्योगको लाइन जोडिने भएको छ । साँझसम्म वितरण तथा ग्राहक सेवा निर्देशनालयलाई पत्र पुगे लाइन जोडिनेछ । तर माइन्युटमा उल्लेख भएका शर्तहरु व्यवसायीका हितमा छन् वा कुलमानका हितमा भन्ने अझै गोप्य राखिएको छ । किनभने, उद्योगीहरुले प्राधिकरणसँग प्रमाण माग्दै आएका छन् कुलमानले प्रमाण दिन सकिरेहका छैनन् ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीहरुलाई पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो ।

उद्योगीलाई दिएको समय सकिएको भन्दै प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची,जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टील लाइन काटिदिएको छ ।

उद्योगीहरु टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड मागिरहेका छन् । प्राधिकरणले दिन सकेको छैन। जसका कारण फर्जी बिल भन्दै तिर्न अस्वीकार गरिरहेका छन् ।


दिनेश खड्का