सरकारले भन्यो- निर्माण सम्पन्न गरेर भुक्तानी नपाएका निर्माण व्यवसायीको समस्या समाधान गर्छौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न गरेर भुक्तानी नपाएका निर्माण व्यवसायीको समस्या समाधान गर्ने बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले निर्माण व्यवसायीको भुक्तानी दिने बताएका हुन् । निर्माण व्यवसायीहरु सरकारले भुक्तानी नदिएपछि समस्यामा पर्न थालेका छन् । उनीहरुले भुक्तानी माग गर्दै सरकार निकाय धाइरहेका छन् । शुक्रबार निर्माण व्यवसायीहरुले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेका थिए ।

सरकारले ५० अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने निर्माण व्यवसायीहरुको भनाइ छ । असार मसान्तमा २० अर्ब रुपैयाँ भुक्तानी रोकिएको हो । भुक्तानी रोकिएपछि निर्माण व्यवसायीहरु आन्दोलनमा जाने तयारीमा थिए ।

विगतमा अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा एक शीर्षकमा रहेको रकम अर्को शीर्षकमा रकमान्तर गर्दै पुँजीगत खर्चको भुक्तानी गर्ने गरेकाले निर्माण व्यवसायीले काम गरे बराबर असार मसान्तमा सहजै भुक्तानी पाउने गरेका थिए ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्धाधुन्ध रकमान्तर गर्दा कारबाही गर्न सक्ने डरले अर्थ मन्त्रालयका अधिकारीहरु रकमान्तर गर्दै जसरी पनि भुक्तानी दिने पक्षमा कर्मचारी भएनन् । सोही कारण भुक्तानी रोकिएको थियो ।

यस्तै, पछिल्लो समय संघीय सरकारको सञ्चित कोष २ खर्ब ३० अर्ब रुपैयाँले घाटामा भएकाले पनि अर्थ मन्त्रालयले पुरानो रकम भुक्तानीमा आनाकानी गरिरहेको छ ।


क्लिकमान्डु