असोजदेखि ललितपुरको ग्वार्कोमा पाँचतारे होटल द म्यासिफ सञ्चालन हुने, गुणको साढे ६ अर्ब लगानी



काठमाडौं । गुण ग्रुपको साढे ६ अर्ब रुपैयाँ लगानीमा ललितपुरको ग्वार्कोमा निर्माणाधीन पाँचतारे होटल द म्यासिफ आगामी असोजदेखि सन्चालनमा आउने भएको छ ।

गुण ग्रुपको लगानीमा ६ अर्ब ५१ करोड १० लाख रुपैयाँ लगानीमा निर्माण भइरहेको होटल आगामी असोजदेखि आंशिक र असारदेखि पूर्णरुपमा सन्चालनमा आउने भएको हो । सन् २०२३ को मध्यदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको भए पनि अर्थतन्त्रमा देखिएको संकुचनका कारण २०२५ को मध्यदेखि मात्रै सन्चालनमा आउने भएको हो ।

सन् २०१८ अगस्टदेखि शुरु भएको होटल निर्माणको काम कोरोना महामारी लगायतका कारणले सम्पन्नमा ढिलाइ भएको थियो। होटलमा ७५ प्रतिशत बैंकिङ कर्जा र २५ प्रतिशत इक्विटी लगाानी हुनेछ ।

अहिले होटलको ७० प्रतिशतभन्दा बढी वित्तीय प्रगति भइसकेको छ । होटलमा ३०२ वटा रुम रहने छन् । होटलले ४ अर्ब १२ करोड ७० लाख रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । होटेलको प्रवर्द्धक गुण ग्रुपले १ अर्ब रुपैयाँ लगानी गरेको छ भने बाँकी बैंकसँग ऋण लिएको छ ।

सरकारले नेपाल पर्यटन दशक २०२३-२०३२ घोषणा गरेसँगै निजी क्षेत्रले होटेलमा लगानी बढाएको हो । पछिल्लो समय पर्यटन आगमन उल्लेख्य मात्रामा बढेको छ । सन् २०२२ को तुलनामा पर्यटक आगमनको संख्या २०२१ को तुलनामा २०२२ मा ३०७ प्रतिशत, २०२२ को तुलनामा २०२३ मा ६५ प्रतिशतले बढेर १० लाख १४ हजार ८८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य राखेको छ । अन्तरदेशीय भुक्तानी सुविधाका कारण खासगरी भारतीय पर्यटकहरुको उच्च आगमन हुने हुँदा नेपालको हस्पिटालिटी क्षेत्र फस्टाउने विश्वास गरिएको छ ।

गुण ज्वेलर्स, गुण सिनेमा हल, गुण हाउजिङ, अपार्टमेन्ट, गुण कोलोनी, गुण रियलस्टेट, गुण एयरलाइन्स, गुण को–अपरेटिभलगायतका संस्थाका अध्यक्ष समेत रहेका अध्यक्ष शाक्य घरजग्गा कारोबारमा मन्दी छाएसँगै टाटपल्टिएका थिए ।

करिब करिब शुन्यमै झरेका शाक्यले यतिबेला भने गुण एयरलाइन्सलाई पुनर्जीवन मात्रै दिएनन् हाल उनी विभिन्न व्यवसाय बिस्तारमा समेत लागेका छन् । पछिल्लो समय उनले दरबारमार्गमा दरबार मल निर्माण गरेका छन् भने उक्त हलमा क्यूएफएक्सको व्यवसथापनमा दरबार सिनेमा समेत सञ्चालनमा ल्याइसकेका छन् ।


क्लिकमान्डु