आर्थिक विधेयक संशोधन हुने भएपछि अर्थमन्त्रीद्वारा राष्ट्रिय सभा बहिष्कार, ३० गतेलाई सारियो



फाइल फोटो

काठमाडौं । आर्थिक विधेयकको दफा ३३ संशोधन हुने भएपछि अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभाको वैठक वहिस्कार गरेका छन् । अर्थमन्त्री पुन अनुपस्थित हुने भएपछि अध्यक्ष नारायण दाहालले आजका लागि बोलाइएको वैठक स्थगित गरेका छन् । स्थगित वैठक ३० गतेका लागि सारिएको छ ।

बजेटसँगै ल्याइको आर्थिक विधेयकको प्रावधान संशोधन हुने भएपछि पुन राष्ट्रिय सभा नजाने बताएका थिए । शुक्रबार पुन नजाने भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वैठक रोके ।

एमालेकी सांसद भगवती न्यौपानले विधेयकमा संशोधन प्रस्ताव हालेपछि बिहीबारका लागि सो संशोधन प्रस्ताव निर्णय लिइने पूर्वतयारी थियो । एमाले सरकारमा हुँदा पुनले ल्याएको आर्थिक विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको थियो । विधेयक राष्ट्रिय सभामा पुगेपछि सत्ता गठबन्धनमा एमाले बाहिरियो । फलस्वरुप विधेयक जस्ताको तस्तै पारित नहुने भयो ।

आर्थिक विधेयकले आयकर ऐनको दफा ५७ संशोधन गर्दै सिमित व्यवसायीलाई लाभ हुने प्रस्ताव गरेको थियो । सोही प्रस्तावित व्यवस्थाका विपक्षमा एमाले राष्ट्रिय सभामा उभिएको थियो । नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको नयाँ व्यवस्थालाई एमालले प्रतिनिधिसभामा साथ नदिएपनि राष्ट्रिय सभामा एमाले नै कांग्रेसको लाइनमा आएको थियो ।

बजेटको एक अंशको प्रावधान प्रस्ताव गरेअनुसार पारित नहुने भएपछि पुनले राष्ट्रिय सभा बहिस्कार गरेका थिए । राष्ट्रिय सभाबाट विधेयकमाथिको संशोधन प्रस्ताव पारित भएको खण्डमा सरकार विश्वासको मत लिनुअघि नै नैतिक रुपमै कमजोर हुने थियो । प्रधानमन्त्री दाहालले शुक्रबारको प्रतिनिधिसभा वैठकमा विश्वासको मत लिँदैछन् । एमाले–कांग्रेस गठबन्धन दाहालको विपक्षमा रहेका कारण शुक्रबारै सरकार ढल्दैछ ।

राष्ट्रिय सभाको वैठक स्थगित भएपछि सरकार ढल्नुअघि कम्तिमा एक दिनका लागि सरकारको शाख जोगिएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल प्रधानमन्त्रीका भाइ हुन् ।

अर्थमन्त्रीले बजेटमा ल्याएका प्रावधानहरू माथिको संशोधन पास गर्ने बाटोमा कांग्रेस–एमाले अघि बढेपछि राष्ट्रिय सभाको बैठक नै स्थगित भएको तथा बैठक स्थगित गर्ने राष्ट्रिय सभाका अध्यक्षको कदम गलत भएको भन्दै कांग्रेस, एमाले, जसपा र लोसपाले आपत्ति जनाएका छन् ।


क्लिकमान्डु