खाडीमा नेपाली चेलीको सफलता: दुईतले बसको पहिलो महिला चालक



काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा खाडी मुलुक जाने नेपाली महिलाहरु ठगिएका समाचार हरेक साता सुनिन्छ । घरेलु कामदारको रुपमा त्यहाँ रहेका नेपाली चेलीहरु तलब नपाउनेदेखि बलात्कृत हुनेसम्मका घटना समाचारमा आएकै छन् । तर गल्फको गर्मीमा थोरै मेहनती र भाग्यमानीहरुले मात्रै आफ्नो सपनाको उडान भर्न सकेका छन् । त्यस्तै एक कामदार हुन् ओखलढुंगाकी शान्ति कुमारी भण्डारी ।

शान्ति कुमारी भण्डारीलाई यतिबेलासम्म कमै नेपालीले मात्रै चिन्छन् । तर मध्यपूर्वका चर्चित पत्रपत्रिका र अन्य विदेशी मिडियाले शान्तिको साहस र संघर्षको प्रसंसा गर्दै केही समययता उनलाई एक ‘सेलिब्रिटी ड्राइभर’को रुपमा परिचित गरिसकेका छन् । पत्रपत्रिकामा आफ्नो नाम नआउन्जेलसम्म शान्ति आफ्नो पेशा, साहस र संघर्षप्रति आफैं विश्वस्त थिइनन्।

२०२३ को जुन महिनादेखि भने शान्तिको कामको चर्चा व्यापक बन्दै गएको छ । हालै आफ्नो फेसबुकमा शान्तिले लेखेकी छन्, ‘सपना सबैले देख्छन्, कतिको पूरा हुन्छ कतिको हुँदैन । सबैले जस्तै मैले पनि धेरै पहिलेदेखि एउटा सपना देखेकी थिएँ । सीमित दिदिबहिनीहरुले लगनखेल, जाउलाखेल हुँदै सातदोबाटो रुटमा तिनपाग्रे टेम्पो कुदाएको देख्दा मैले पनि यस्तै केही सहसिक काम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । देखेका सपना मात्र होइन आफ्नो मेहनत, इमानदारिता र दृढ संकल्पपछि नदेखेका सपना पनि पूरा हुँदा रहेछन् भनेर म आफैँबाट प्रमाणित भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्युजहरुले यसरी सफलताको कभरेज गरिरहँदा र मेरो चर्चा परिचर्चा भइरहँदा कुनै घमण्ड गरेको छुइन । तर गर्व पक्कै गरेको छु, गर्व पनि यसकारण गरिरहेको छु कि मेरो संघर्ष र मेहनतको स्टोरीले धेरै दिदिबहिनीहरुलाई फरक विधामा आफूलाई स्थापित गर्ने प्रेरणा अवस्य मिल्नेछ भन्ने कुरामा विश्वस्त छु ।’

शान्तिको यो स्टाटसबाटै उनको सफलता र उपलब्धिबारे केही आकलन गर्न सकिन्छ । यथार्थमा शान्ति मध्यपूर्वभर नै डबल डेकर पर्यटकीय बस चलाउने पहिलो महिला हुन् । उनी हरेक दिन विभिन्न देशका पर्यटकहरुलाई आफ्नो दुईतले बसमा दुबइ र आसपासका सहरमा सफर गराइरहेकी हुन्छिन् । कहिलेकाहीँ ती पर्यटकसँग फोटो खिचेर पोस्ट गरेकी हुन्छिन् । शान्तिको यो सफलता पछाडि लामो र कठिन संघलाई भने बिर्सन सकिँदैन ।

कसरी पाइन् शान्तिले सफलता ?

ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिका–२ को सिंहदेवीमा जन्मेर हुर्केकी शान्ति वैदेशिक रोजगारिको शिलशिलामा २०१५ मा भिजिट भिसामा युएई पुगेकी थिइन् । त्यहाँ उनकी बहिनी ब्युटिपार्लरमा काम गर्थिन् । शान्ति पनि सुरमा ब्युटिसियनको रुपमा काम गर्न थालिन् । राम्रै कमाइ भए पनि त्यसले उनलाई सन्तुष्ट बनाएको थिएन ।

सन् २०१६ मा उनले युएईस्थित स्कुल बस सुपरभाइजरको रुपमा काम गर्न थालिन् । त्यसै क्रममा उनले ड्राइभिङ सिकिन् र २०१७ मा लाइट सवारीको लाइसेन्स लिइन् । लाइसेन्स लिएसँगै अल गज ट्रान्सपोर्ट नामको कम्पनीमा उनले ट्याक्सी ड्राइभरको काम पाइन् ।

त्यसको केही समयपछि शान्तिले हेभी गाडी चलाउन सिकिन् । र लाइसेन्स पनि लिइन् । त्यसपछि अबुदाभी सिटी बस चालकको रुपमा आवेदन दिएर पास भइन् । तर उनको आवेदन सुरुमा रिजेक्ट भयो । कारण के थियो भने युएईमा कानुनी रुपमै महिलालाई बस चलाउने अनुमति थिएन । यसबीचमा उनले युएईमा धेरै कम्पनीहरुमा बस चालकका लागि कोसिस गरेकी थिइन् । पछि उनी दुबइ पुगेर चालकका लागि बिग बस टुर्स कम्पनीमा आवेदन दिइन् । यसका लागि माइकल लीजले ठूलो सहायता गरेको गल्फका समाचारमा उनले उल्लेख गरेकी छन् ।

अन्तत: उनलाई बिग बस टुर्सले चालकको रुपमा स्वीकार गर्‍यो । चालकको रुपमा काम गर्न थालेपछि नै शान्ति मध्यपूर्वकै डबल डेकर टुरिस्ट बस चलाउने पहिलो महिलाको रुपमा चिनिएकी छन् । अर्थात् मध्यपूर्वको पर्यटन क्षेत्रमा डबल डेकर बस चलाउने महिलो महिला ।

त्यसो त ट्याक्सी चलाउन थालेपछि नै गल्फका समाचारहरुमा उनको नाम आउन थालेको थियो । जसले शान्ति आफूलाई प्रेरणा मिलेको बताउँछिन् । तर ती समाचारले गल्फमा साहसी र चुनौतीपूर्ण काम गर्न उनलाई थप प्रेरणा मिलेको थियो ।

काठामडौंमा बस्दा

ओखलढुंगाको सिंहदेवीबाट २००२ मा पढाइका लागि उनी ललितपुर आएर बस्न थालिन् । ललितपुरको श्रमजित किशोर माविमा पढ्दै गर्दा लगनखेल–जाउलाखेल रुटमा महिलाहरुले टेम्पो चलाएको उनले देखेकी थिइन् । त्यो पुरानो सम्झनालाई उनले अहिलेको सफलतासँग जोडेर हेर्ने गरेकी छन्।

शान्तिले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘दिदिबहिनीहरुले लगनखेल, जाउलाखेल हुँदै सातदोबाटो रुटमा तिनपाग्रे टेम्पो कुदाएको देख्दा मैले पनि यस्तै केही सहसिक काम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । देखेका सपना मात्र होइन आफ्नो मेहनत, इमानदारिता र दृढ संकल्पपछि नदेखेका सपना पनि पूरा हुँदा रहेछन् भनेर म आफैँबाट प्रमाणित भयो । मेरो संघर्ष र मेहनतको स्टोरीले धेरै दिदिबहिनीहरुलाई फरक विधामा आफूलाई स्थापित गर्ने प्रेरणा अवस्य मिल्नेछ भन्ने कुरामा विश्वस्त छु ।’

ललितपुर बस्दाताका शान्ति महिलाहरुले टेम्पो चलाएको हेरेरै स्कुल जान पनि ढिल भएको सम्झन्छिन् । कतिपय समाचारमा उनले आफ्ना ललितपुर बसाइका सम्झना सेयर गरेकी छन् । ती महिलाहरुले आफूलाई प्रेरणा मिलेको उनको अनुभव छ ।

यसबीचमा शान्ति थुप्रै संस्थाहरुबाट सम्मानित पनि भएकी छन् । युएईमा रहेका नेपालीहरु उनलाई भेट्न खोज्छन् । उनले गरेको काम र पाएको सफलताबारे धेरैले चासो राख्छन् । धेरै पर्यटकहरु उनको दुई तले बस चढेर उनको प्रसंसा गर्छन् । त्यहाँ हरेक दिन नयाँ मानिसहरु भेट्छिन् उनी । रोजीरोटीका लागि ब्युटिसियन बन्न खाडी पुगेकी शान्तिले अहिले कठिन काममा जुन सफलता पाएकी छन् यस्तो पहिले कहिल्यै नसोचेको बताउँछिन् । समय र भाग्यले मात्रै हैन, निरन्तरको लगाव, रुची र संघर्षले नै आफूले आज यो सफलता पाएको शान्तिको अनुभव छ ।


क्लिकमान्डु