किमलाई पुटिनले दिए ४ करोडको कार उपहार, किमले दिए शिकारी कुकुर



उत्तर कोरिया भ्रमणको क्रममा पुटिनले किमलाई रुसमै बनेको ४ करोड रुपैयाँभन्दा महंगो लग्जरी कार उपहार दिए । किमले भने उत्तर कोरियाका दुईवटा रैथाने शिकारी कुकुर दिए

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणलाई लिएर चौतर्फी चर्चा र चासो देखिएको छ । यससँगै अर्को रोचक प्रसंग के पनि छ भने, त्यहाँ दुई देशबीचको समझदारीपछि पुटिन आफैंले कार ड्राइभ गरे । पुटिनले चलाएको लग्जरी कारभित्र किम छेउमा बसेर हाँसिरहेको तस्बिर र भिडियो व्यापक रुपमा सामाजिक सञ्जालमा पनि सेयर भएको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार पुटिनले प्यङयाङमा हाँकेको उक्त कार रुसमै बनेको लिमोसिन ब्रान्डको कार हो । उत्तर कोरियाको राज्य नियन्त्रित मिडियाले सार्वजनिक गरेको उक्त भिडियोमा पुटिन र किमले पालैपालो कार ड्राइभ गरेका छन् । जहाँ उनीहरु अन्तरंग भएर हाँसिरहेका देखिन्छन् । यस्तो देखिन्छ कि, उनीहरु दुबै जना अरस लग्जरी कारभित्र एकअर्काको सामिप्यतामा रमाइरहेका छन् ।

दुई नेताको भिडियो नियालेर हेर्दा के देखिन्छ भने सुरुमा पुटिनले कार ड्राइभ गरेका छन् र किम छेउको प्यासेन्जर सिटमा बसेर हाँसिरहेका छन् । त्यसपछि फेरि किमले ड्राइभ गरेका छन् र पुटिन प्यासेन्जर सिटमा बसेर गफ्फिरहेका देखिन्छन् ।

कस्तो हो आरस सेनेट कार ?

भ्रमणमा उपहार आदान-प्रदानको क्रममा पुटिनले किमलाई बुधबार नै आरस कार गिफ्टको रुपमा दिएका थिए । रुसी मिडियाका अनुसार पुटिनले आफ्ना समकक्षी किमलाई दोस्रो पटक यो मोडलको लग्जरी कार उपहार दिएका हुन् । पुटिनका सहयोगी युरी उसाकोभका अनुसार, पुटिनले किमलाई एक चियाको सेट पनि उपहारको रुपमा दिएका थिए ।

पुटिनले किमलाई दिएको आरस सेनेट रुसले नै निर्माण गरेको एक लग्जरी फूल साइज कार हो । यो कार रुसी अटोमेकर आरस मोटर्सले मस्कोमा बनाएको हो भने यसलाई नामीले विकास गरेको थियो । यसलाई रुसको ‘प्रेसिडेनसियल स्टेट कार’को रुपमा पनि चिनिन्छ । साथै यो कार जिस-११० मोडेलबाट प्रभावित भएको बताइन्छ ।

र आरस सेनेटलाई कोर्तेज सिरिजको एक हिस्साको रुपमा पनि लिइन्छ । जसमा भ्यान र एसयूभी समावेश हुन्छ । सेनेट सन् २०१८ को सेप्टेम्बरमा मस्कोमा आयोजित ‘मस्को इन्टरनेसनल अटोमोबाइल सेलोन’ मा पहिलो पटक सार्वजनिक गरिएको थियो।

२०२४ को फेब्रुअरी २० मा पनि किमले यो कार पुटिनबाट पहिलो पटक उपहारको रुपमा पाएका थिए । जुन कार मार्च १५ मा एक सैन्य कार्यक्रममा किमले चढेको एक भिडियो फुटेज उत्तर कोरियाली टेलिभिजनले सार्वजनिक गरेको थियो । जुन १९ मा भने पुटिनले यही मोडेलको दोस्रो कार किमलाई उपहार दिएका हुन् । यस कारको बजार मूल्य २०१८ मा बढेर १ लाख ६० हजार अमेरिकी डलर पुगेको थियो । त्यसपछि २०२१ मा फेरि दोस्रो पटक मूल्य बढेर ३ लाख अमेरिकी डलर (४ करोड २ लाख ३० हजार नेपाली रुपैयाँभन्दा धेरै) पुगेको छ ।

उत्तर कोरियाली राज्य नियन्त्रित मिडियाले सार्वजनिक गरेको भिडियो फुटेजमा देखाइए अनुसार पुटिनले उपहारको रुपमा किमबाट त्यहाँको रैथाने पुङसन शिकारी कुकुरको जोडी पाएका छन् । यही कुकुरको नश्ल किमले २०१८ मा दुई देशको सम्बन्ध स्थापित गर्न दक्षिण कोरियाका पूर्वराष्ट्रपति मून जे इनलाई पनि उपहार दिएका थिए ।

उत्तर कोरियामा हुने पहिलेका भ्रमणभन्दा यसपटक पुटिनको भ्रमणलाई निकै महत्त्व दिएर सार्वजनिक गरिएको छ । यसको उद्देश्य पश्चिमा देशहरुलाई शक्ति प्रदर्शन गर्न रुस र उत्तर कोरियाले अपनाएको नयाँ रणनीतिको रुपमा व्याख्या गरिएको छ ।

बुधबार बिहानै उत्तर कोरियामा पुटिन अवतरण गरेका थिए । युक्रेन युद्धका कारण रुसलाई पश्चिमा देशहरुले दबाब दिइरहँदा पुटिन ठीक २४ वर्षपछि उत्तर कोरिया भ्रमण गरेका हुन् । यस भ्रमणमा दुई नेताले एक नयाँ सम्झौता पनि गरेका छन् । यो सम्झौताले दुईमध्ये कुनै पनि देशमा आक्रमण भएमा एकअर्काले सहयोग गर्ने सहमति भएको छ । पुटिनले भने यस सम्झौतालाई नयाँ उचाइमा सम्बन्ध पुगेको भन्दै कोषे ढुंगाको रुपमा टिप्पणी गरेका छन् ।

तर दुवैको सहयोगी मानिएको चीनले पुटिनको भ्रमणलाई लिएर कुनै प्रतिक्रिया दिएको छैन । बरु यसअघिको रुस भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले पुटिनलाई छिट्टै उत्तर कोरिया भ्रमण नगर्न आग्रह गरेका थिए ।


क्लिकमान्डु