निर्माण व्यवसायीलाई १ अर्ब तिर्न बाँकी, तर प्रधानमन्त्री भन्छन्: भुक्तानीको समस्या छैन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको दाबी गरेका छन् । जवकि निर्माण व्यवसायीहरुले आफूले गरेका कामको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्दै आएका छन् ।

निर्माण व्यवसायीहरुलाई सरकारले करिब १ सय अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छँदा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखांकन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकता साथ कार्य भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए ।

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “समितिको प्रतिवेदन तथा सिफारिश प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।”

तर यसअघिदेखि नै निर्माण व्यवसायीहरुले भुक्तानी क्लियर गर्न भन्दै सरकारसँग पटक पटक माग गर्दै आएका छन् । यसका लागि व्यवसायीहरुले अर्थमन्त्रीसँग पनि पटक पटक भेट गरिसकेका छन् ।

यसअघि व्यवसायीलाई भुक्तानीको सन्दर्भमा अर्थमन्त्री वर्षमान पुनले ४० अर्ब भुक्तानीका लागि निर्देशन दिएका थिए । तर अर्थ मन्त्रालयका अधिकारीले भुक्तानी दिने विषयमा सामान्य प्रक्रियासमेत सुरु गरेका छैनन्


क्लिकमान्डु