नेपालमै बनेको हुन्डाइको भेन्यु कार भारतमा बनेको भन्दा ४ लाख सस्तो, नयाँ मूल्य कति ?



काठमाडौं । कोरियाली कार उत्पादक कम्पनी हुन्डाइले नेपालमै कार बनाउन थालेपछि उपभोक्ता लाभान्वित हुने भएका छन् । नेपालका लागि हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमै हुन्डाइ भेन्युको व्यावसायिक उत्पादन गर्न थालेपछि ग्राहकलाई भारतबाट आयातीत कारभन्दा निकै सस्तो पर्ने भएको हो ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार भेन्युको मूल्य ४ लाख रूपैयाँ सस्तो भएको छ ।

हाल बजार मूल्य ४८ लाख ९६ हजार रूपैयाँ रहेको भेन्यु एस १.२ को मूल्य ४४ लाख ९६ हजार रूपैयाँ कायम भएको छ ।

यसैगरी यसअघि ५७ लाख ९६ हजार रूपैयाँ मूल्य रहेको उन्नत भेरियन्टको एसएक्सको भाउ ५३ लाख ९६ हजार रूपैयाँ तोकिएको छ । दुवै कारको इन्जिन क्षमता ११९८ सीसीको रहेको छ ।

यो तुलना कम्पनीले गत मंगलबारदेखि प्रभावकारी बनाएको नयाँ दर अनुसार गरिएको हो ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल उत्पादन सुरु गरेको हो ।

गत वैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राम-६ मा ‘हुन्डाइ मोटर एसेम्बलिङ’ शुभारम्भ गरेका थिए । यससँगै कम्पनीले हुन्डाइ भनेन्युको बिक्री सुरु गरेको जनाएको छ ।

यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाइ मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरह रहेको दाबी कम्पनीले गरेको छ ।

स्वदेशमै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युत खपत, कुल गाह्रस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

पहिलो चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ । यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आई टेन र न्यु हुन्डाइ क्रेटाको उत्पादन पनि सुरु गर्ने तयारी कम्पनीको छ ।


क्लिकमान्डु