३ दिनदेखि भारतीय सीमामा रोकिएका २५० ग्यास बुलेट नेपाल भित्रन थाले, यस्तो भयो सहमति



काठमाडौं । तीन दिनदेखि नेपाल-भारतको सीमामा रोकिएका करिब २५० बुलेट नेपाल भित्रन थालेका छन् ।

सरकारको नयाँ नीतिअनुसार ग्यास बोकेर आएका भारतीय नम्बर प्लेटका बुलेट नेपाल आउँदा लाग्ने अस्थायी पैठारी शुल्क नेपाल आयल निगमले व्यहोर्ने सहमति जनाएपछि भन्सार नाकाबाट बुलेट जाँचपास हुन थालेका हुन् ।

निगमले उक्त शुल्क व्यहोर्ने सहमति जनाएपछि नाकाहरुमा थन्किएका बुलेटहरुको जाँचपास मंगलबार अपराह्नदेखि हुन थालेको हो।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाल भित्रिने भारतीय नम्बर प्लेटको ग्यास बोकेको बुलेटमा अस्थायी पैठारी शुल्क निर्धारण गरेपछि विभिन्न सीमामा दुई सय पचासभन्दा धेरै बुलेट तीनदिन यता थन्किएका थिए । यसबारे क्लिकमान्डुमा समाचार सम्प्रेषण भएको थियो ।

निगमले शुल्क आफैंले व्यहोर्ने सहमति जनाएर उक्त बिषयलाई निगमको सञ्चालक समितिको बैठकबाट स्वीकृत गर्ने प्रक्रिया अघि बढाएको छ ।

सरकारले आर्थिक अध्यादेशमार्फत अस्थायी पैठारी हुने सवारी तथा ढुवानी साधनमा एकमुष्ट शुल्क लगाउने व्यवस्था गरेको छ । जसअनुसार एलपी ग्यास ढुवानी गरी ल्याउने बुलेट ट्रकलाई गन्तव्यस्थलमा अनलोड गर्नका लागि वस्तु जाँचपास भएको ९६ घण्टासम्मको लागि १ हजार ५ सय रुपैयाँ, एलपी ग्यास बुलेटबाहेक अन्य बस्तु ढुवानी गरी ल्याइएको ट्रक, ट्रेलर, ट्रयाक्टर र अन्य ढुवानीको साधनहरुको हकमा ७२ घण्टासम्मको अवधिको लागि १ हजार ५ सय रुपैयाँ सरकारले तोकेको छ ।

यो नीतिअनुसार भन्सार कार्यालयले ग्यास र बुलेटको छुट्टाछुट्टै प्रज्ञापनपत्र जारी नगर्दा समस्या आएको थियो । यसअघिसम्म ग्यास बोकेको वा मालसामान बोकेको भारतीय नम्बर प्लेटको सवारी साधन नेपालमा आउँदा ७२ घण्टासम्म कुनै पनि शुल्क नलाग्ने व्यवस्था थियो ।

यसका साथै ग्यास र बुलेटको छुट्टाछुट्टै प्रज्ञापनपत्र जारी गर्ने नीति थियो । ग्यास र बुलेटको प्रज्ञापनपत्र निगमले जारी गर्ने भएकाले अब ग्यास बोकेर आउने बुलेटको नयाँ नीतिअनुसार लाग्ने १ हजार ५ सय रुपैयाँ निगमले नै व्यहोर्न तयार भएको हो ।


राजेश बर्मा