‘मोदी र भाजपाले गर्दा सेयर बजारमा गिरावट आयो, संसदीय छानबिन गर्नुपर्छ’



एजेन्सी । भारतमा प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले सेयर मार्केट अनपेक्षित रुपमा गिरावट आएको विषयमा संसदीय छानबिन गर्न माग गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रामक लगानीका लागि सल्लाह दिएको आरोप लगाउँदै नवनिर्वाचित लोकसभा सांसद गान्धीले चुनावको अन्त्यतिर सेयरमा देखिएको तीव्र गतिमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

भाजपाका नेता नरेन्द्र मोदीको गठबन्धनले लोकसभा निर्वाचनमा अनपेक्षित रुपमा झिनो मतान्तरले वहुमत प्राप्त गरेपछि विपक्षी दलका नेता गान्धीले यस्तो प्रतिक्रिया दिएका हुन् । जवकि एक्जिट पोलले भाजपा भारी मतले जित्ने आकलन गरेको थियो ।

यसबीचमा निर्वाचन आयोगले चुनावी नतिजा सार्वजनिक गर्नुभन्दा एक दिनअघिदेखि नै सेयर बजारमा भारी गिरावट आएको थियो । तर सवमबारदेखि भने बजार केही उकालो लाग्ने अवस्थामा पुगेको बताइन्छ । नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारका मन्त्रीहरुले चुनाव प्रचारका क्रममा जुन ४ मा चुनावी नतिजा घोषणा हुँदा बजार बढ्ने बताउँदै आउका थिए । यस्तै भाजपाका नेता तथा नवनियुक्त मन्त्री अमित शाहले पनि व्यवसायीहरुलाई जुन ४ भन्दा पहिले नै सेयर खरिद गर्नका लागि आग्रह गरेका थिए ।

यसैबीच प्रतिपक्षी दलका नेता गान्धीले मोदीसहित भाजपाका नेताहरुको उक्साहटका कारण बजारमा उतारचढाव आएको भन्दै छानबिन आवश्यक रहेको बताएका हुन् । गत मंगलबार भने भारतमा सेयर बजार झण्डै ६ प्रतिशतले तल झर्दै चार वर्षकै सबैभन्दा गिरावट आएको थियो ।

भाजपाले बहुमत गुमाउँदै गरेको नतिजा सार्वजनिक भइरहँदा अनपेक्षित रुपमा सेयर बजार प्रभावित बनेको थियो । गान्धीले सेयर बजारको उतारचढावमा प्रधानमन्त्री मोदी र गृहमन्त्रीसहित भाजपाका नेताहरुको भूमिका छानबिन गर्नुपर्ने बताएका हुन् । साथै उनले संयुक्त रुपमा संसदीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ । राहुल गान्धीले भनेका छन्, ‘हामी यो व्यापार गर्ने विदेशी लगानीकर्ता को हुन् भनेर बुझ्न चाहन्छौं ।’

मोदीको यसअघिको सरकारमा व्यापार मन्त्री बनेका पियुष गोयलले भने गान्धीको आरोपको प्रतिवाद गर्दै कंग्रेसमाथि नै आरोप लगाएका छन् । उनले मोदी फेरि शक्तिमा आएकोमा कंग्रेस चिन्तित बनेको र यस्तो आरोप लगाएको गोयलको जिकिर छ । साथै कंग्रेसले विदेशी लगानीलाई निरुत्साहित गर्न खोजेको पनि गोयलको आरोप छ ।

नवनिर्वाचित प्रधानमन्त्री मोदीले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । मोदीले आइतबार तेस्रो पटक प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । उनको नयाँ गठबन्धन सरकारमा नयाँ र पुराना गरी ३० जना मन्त्री बनेका छन् ।


क्लिकमान्डु