भारतमा निर्वाचनको अनपेक्षित नतिजा आउँदा सेयर बजारमा भारी गिरावट



एजेन्सी । भारतमा लोकसभा निर्वाचनसँगै अनपेक्षित रुपमा एक्जिट पोलभन्दा फरक नतिजा आउन थालेपछि त्यहाँको सेयर बजारमा भारी गिरावट आएको छ । सेयर मार्केट अहिले तीब्र रुपमा बिक्रीको दबाबमा छ ।

मंगलबारको कारोबारमा नेप्से ५० इन्डेक्स करिब १००० बिन्दुमा ओरालो लागेको छ । बीएसई सेन्सेक्स लगभग २८०० बिन्दुले ओरालो लागेको छ । साथै बैंक नेप्से इन्डेक्स मंगलबारको कारोबारमा २८०० बिन्दुभन्दा बढी खस्किएको छ ।

सेयर बजारका विश्लेषकहरुका अनुसार यस्तो गिरावट लोकसभा निर्वाचनको क्षणिक वा अल्पकालीन परिणामका कारणले मात्रै देखिएको हो । साथै निर्वाचनको परिणामपछि पनि हालको सत्तारुढ दल भाजपाको नेतृत्वमा नै सरकार बन्ने सम्भावना कायम रहेको दाबी गर्दै विश्लेषकहरुले नतिजापछि बजारमा उछाल आउने बताएका छन् ।

उनीहरुले लगानीकर्ताहरुलाई गुणस्तरीय सेयरमा ध्यान दिन पनि सुझाव दिएका छन् । सेयर बजारमा आएको गिरावटबारे टिप्पणी गर्दै, प्रोफिटमार्ट सेक्युरिटीजका अनुसन्धान प्रमुख अविनाश गोरक्षकरले यसलाई रणनीतिक लगानीको अवसरका रूपमा हेर्न पनि सुझाव दिएका छन् । उनले यसलाई नाफा कमाउनका लागि सुनौलो अवसर भन्दै लगानीकर्ताहरुलाई ढाडस दिएका छन् ।

‘यो मन्दी मुख्यतया भावनाबाट निर्देशित छ । र अल्पकालीन हुने अपेक्षा गरिएको छ,’ गोरक्षकरले भनेका छन् । लोकसभा निर्वाचनको नतिजा भाजपा नेतृत्वको गठबन्धनको पक्षमा हुने दाबी गर्दै उनले सेयर मार्केटको यस्तो अवस्था छिट्टै सुधार हुने बताएका छन् ।

अस्थिर बजारमा गुणस्तरीय स्टकहरुको पनि गिरावहट हुनसक्ने भन्दै विश्लेषकहरुले विवेकशील लगानीकर्ताका लागि गुणस्तरीय सेयर थप्नका लागि पनि सुझाव दिएका छन् ।

सेयर बजारमा आएको गिरावट अनुसार ३० सेयर भएको बीएसई सूचांक ३३११.८७ अंक वा ४.३३ प्रतिशत गिरावट भएर ७३१५६.९१ सम्म आइपुगेको छ । एनएसई निफ्टीमा १२६३.३ अंक वा ५.७३ प्रतिशत गिरावट आउँदै २२१६२.३५ सम्म आएको छ ।

यसपछि बीएसई बेन्चमार्क ४,१३१.४४ अंक वा ५.४० प्रतिशतले खस्किएर ७२,३३७.३४ मा झरेको छ । साथै निफ्टीमा १,२६३.३ अंक वा ५.४३ प्रतिशतले गिरावट आउँदै २२,०००.६० मा झरेको छ । सेन्सेक्सका ३० कम्पनीहरुमा भारतीय स्टेट बैंकमा १० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । जवकि पावर ग्रिड वा एनटीपीसीमा लगभग १० प्रतिशतको गिरावट आएको छ ।

यससँगै भारतमा सम्पन्न लोकसभा निर्वाचनको मतगणना जारी हुँदा भाजपा नेतृत्वको गठबन्धन र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको गणनामा भाजपा नेतृत्वको गठबन्धनले अग्रता कायम गरे पनि एक्जिट पोलको आकलन भन्दा विपरीत कंग्रेस नेतृत्वको गठबन्धनले धेरै सिटमा अग्रता कायम गरेको छ । मंगलबार दिउँसोसम्म देखिएको अग्रता कायम रहे कंग्रेस नेतृत्वको गठबन्धनले सरकार गठन गर्नसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन।


क्लिकमान्डु