९९ देशमा स्पेस एक्सको स्टारलिंक इन्टरनेट, नेपालमा आउला ?



एजेन्सी । स्पेस एक्सको स्टारलिंक इन्टरनेट सेवा विश्वका ९९ देशमा विस्तार भएको छ । कम्पनीका मालिक एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै स्टारलिङक इन्टरनेट ९९ देशका ३० लाखभन्दा धेरै प्रयोगकर्ताहरुमाझ पुगेको बताएका छन् ।

केही साताअघि मात्रै मस्क इन्डोनेसियाको बालीमा भ्रमण गरी त्यहाँ स्टारलिङकको उद्घाटन गरेका थिए । इन्टरनेटको सेवामा इन्डोनेसियाका टापुहरुका मानिसहरुको सहज पहुँच पुग्ने उनले बताएका थिए ।

नेपालमा पनि स्टारलिङक इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको टोलीले स्टारलिङकका प्रतिनिधिसँग छलफल गरेको बताइए पनि पछिल्लो समय यो सेवा कहिले विस्तार गर्ने भन्ने विषयमा अन्योल छ ।

मस्क भने रणनीतिक रुपमा आफ्नो सेवा विस्तार गरिरहेका देखिन्छन् । पछिल्लो समय विश्वभरकै पर्यटकको आकर्षक गन्तव्यको रुपमा चिनिएको इन्डोनेसियाको बालीमा उनले हालै स्टारलिङक विस्तार गरेका छन् । इन्डोनेसिया भने स्टारलिंक जडान गर्ने तेस्रो दक्षिण पूर्वीएसियाली मुलुक हो । यसअघि २०२२ मा नै मलेसिया र फिलिपिन्सले स्पेस एक्ससँग सम्झौता गरिसकेका छन् ।

स्पेस एक्सको स्टारलिंकले पृथ्वी परिक्रमा गर्ने ७ हजार ५ सय उपग्रहहरुमध्ये लगभग ६० प्रतिशतको हिस्सा ओगटेको छ । नेपालमा पनि यसको विस्तार भएको खण्डमा नेपाल स्टारलिंक जडान गर्ने पहिलो दक्षिण एसियाली मुलुक बन्नेछ । यद्यपि यसअघि स्टारलिंकका प्रतिनिधिसँग नेपाली टोलीले गरेको छलफलमा ठोस निर्णय भएको थिएन ।

कतिपयले भने वर्तमान सरकारले जारी गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्टारलिंक जडानको परियोजनालाई पनि लक्षित गरेको बताउँदै आएका छन् । सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ, ‘दुर्गम र विकट क्षेत्रमा भू-उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिनेछ ‘। त्यसो त स्टारलिंकले पनि आफ्नो म्यापमा २०२३ मा नेपालमा पनि स्टारलिंक विस्तार गरिने उल्लेख गरेको थियो । तर हाल कहिले विस्तार गरिने भन्ने विषय उल्लेख छैन ।


क्लिकमान्डु