इन्डोनेसियामा एलन मस्क: स्पेस एक्सको स्टारलिंक सेवा सञ्चालन



एजेन्सी । एलन मस्क र इन्डोनेसियाका स्वास्थ्यमन्त्री बुडी गुनादी सदिकिनले स्पेस एक्सको स्याटलाइट इन्टरनेट सेवा सार्वजनिक गरेका छन् । विशाल टापु राष्ट्रहरुका टाढाका क्षेत्रमा पहुँच पुर्‍याउने उद्देश्यले आइतबार उनीहरुले इन्टरनेट सेवा सार्वजनिक गरेका हुन् ।

स्पेस एक्स रटेस्लाका प्रमुख मस्क यही कार्यक्रमका लागि आफ्नो निजी विमानमार्फत् आइतबार इन्डोनेसियाको बालीमा आइपुगेका थिए । इन्टरनेट सेवा सार्वजनिक गर्दै मस्कले इन्डोनेसियामा स्टारलिंक इन्टरनेट सेवाको उपलब्धताले देशको दूरदराजका क्षेत्रका लाखौं मानिसलाई इन्टरनेटको पहुँच पुग्ने बताएका थिए । इन्डोनेसियामा २७ करोड मानिस बसोबास गर्छन् ।

“इन्टरनेटको न्युन पहुँच भएका क्षेत्रमा कनेक्टिभिटी पुर्‍याउन पाउँदा म खुसी हुन्छु । यदि तपाईँसँग इन्टरनेटको पहुँच छ भने तपाईँले हरेक चिज सिक्न सक्नुहुन्छ,” मस्कले भनेका छन् । आइतबार इन्डोनेसियाका तीनवटा स्वास्थ्य केन्द्रहरुमा स्टारलिंक इन्टरनेट सेवा सञ्चालन गरिएको छ । तीमध्ये दुईवटा क्षेत्र बालीमा छन् । बाली पछिल्लो समय विश्वभरका पर्यटकहरु घुम्ने आकर्षक गन्तव्यको रुपमा चिनिएको छ ।

सार्वजनिक कार्यक्रममा देखाइएको भिडियोमा उच्च इन्टरनेट सेवाले कुपोषण लगायतका स्वास्थ्य चुनौतीहरुको सामना गर्न रियल टाइम डेटालाई कसरी सक्षम बनाउँछ भन्ने विषयमा चर्चा गरिएको थियो । इन्डोनेसियाको विद्युतीय सवारी उद्योगमा पनि लगानी गर्ने योजना छ कि भनेर मस्कलाई सोधिएको प्रश्नमा उनले पहिले आफू स्टारलिंकमा नै केन्द्रित हुन चाहने प्रतिक्रिया दिएका थिए ।

यस क्रममा उनले आफूहरु पहिले स्टारलिंक र टापु राष्ट्रहरुका विकट क्षेत्रमा इन्टरनेटले ल्याउने फाइदाबारे नै केन्द्रित हुने बताए । “मलाई लाग्छ कि यसले वास्तवमै इन्टरनेट जडानको कामलाई जोड दिन्छ,” मस्कले भने ।

इन्डोनेसियाको सरकारले वर्षौंदेखि मस्कको टेस्लालाई विद्युतीय सवारी सम्बन्धी उत्पादन प्लान्टहरु निर्माणका लागि आकर्षित गरिरहेको छ । यससँगै इन्डोनेसियाको सरकारले ईभीको क्षेत्रमा काम गर्न खोजिरहेको बताइन्छ । इन्डोनेसिया भ्रमणमा रहेका मस्कोले सोमबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

स्पेस एक्सको स्टारलिंकले पृथ्वी परिक्रमा गर्ने ७ हजार ५ सय उपग्रहहरुमध्ये लगभग ६० प्रतिशतको हिस्सा ओगटेको छ । इन्डोनेसिया स्टारलिंक जडान गर्ने तेस्रो दक्षिण पूर्वीएसियाली देश हो । यसअघि २०२२ मा नै मलेसिया र फिलिपिन्सले स्पेस एक्ससँग सम्झौता गरिसकेका छन् ।


क्लिकमान्डु