निजी क्षेत्रकै ठूलो माथिल्लो तमोरमा लगानी जुट्यो, एभरेष्ट बैंकको नेतृत्वमा ३८.६० अर्ब लगानी



काठमाडौं । निजी क्षेत्रकै अहिलेसम्मकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) भएको छ ।

एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा लगानी भएको हो । सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ  र तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।  

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सम्झौतामा हस्ताक्षर गर्ने तयारी थियो । तर उनी उपस्थित भएनन् । सभामुख देवराज घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायतको उपस्थितिमा हस्ताक्षर भएको हो ।  कार्यक्रममा अधिकांश नेकपा एमाले निकट व्यवसायी र नेताहरु सहभागी थिए ।

२८५ मेगावाट जडित क्षमताको यो कन्सोर्टियम फर्मको नेतृत्व गर्दै एभरेष्ट बैंकले ५ अर्ब रुपैयाँ (१२.९५ प्रतिशत) लगानी गर्नेछ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र कृषि विकास बैंक लिमिटेडले कन्सोर्टियम फर्मको सह-नेतृत्व गर्नेछन् । दुवै निकायले ४/४ अर्ब रुपैयाँ (१०.३६/१०.३६ प्रतिशत) लगानी गर्नेछन् ।

कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ (२.५९ प्रतिशत),गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ (२.५९ प्रतिशत), प्रभु बैंकले ३ अर्ब रुपैयाँ७.७७ प्रतिशत),लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ (५.१८ प्रतिशत), नेपाल एसविआई बैंकले १ अर्ब रुपैयाँ(२.५९ प्रतिशत) र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ (७.७७ प्रतिशत) लगानी गर्नेछन् ।

यो आयोजना निर्माणका लागि ब्याजबाहेक ४५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ब्याज सहितको कुल लागत करिब ५५ अर्ब रुपैयाँ छ। आयोजनामा करिब २४ अर्ब रुपैयाँ ऋण लगानी हुन लागेको हो । भने १४ अर्ब ६० करोड रुपैयाँ (३७.८२ प्रतिशत) । लगानीका लागि खुल्ला आह्‍वान गरिएको छ ।  बाँकी रकम इक्विटी (सेयर)बाट जुटाइनेछ । करिब १५ अर्ब रुपैयाँ इक्विटीबाट जुटाइनेछ ।

प्रस्तावित जलविद्युत आयोजनाको विस्तृत अध्ययन तयार भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत स्वीकृत भइसकेको छ । आयोजनाको ग्रस हेड ४६४ मिटर र नेट हेड ४३३.४२ मिटर छ ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) समेत भइसकेको छ । यो अर्ध-जलाशय  प्रकृतिको जलविद्युत आयोजना हो । जसले सुक्खायामको पिकिङमा १०.५५ रुपैयाँ प्रतियुनिटसम्म मुल्य पाउछ । औसतमा ६.२७ रुपैयाँ प्रतियुनिटमा पीपीए भएको हो ।

प्रस्तावित जलविद्युत आयोजना फक्ताङलुङ गाउँपालिका र फुलङलिङ नगरपालिकामा निर्माण हुनेछ । यो आयोजनाका लागि  ८.५ किलोमिटरको मुख्य सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । यो परियोजनामा पुग्न काठमाडौंबाट हवाईमार्ग हुदै भद्रपुर विमानस्थल पुग्न सकिन्छ । त्यहाँबाट करिब  २६० सडकमार्गको यात्रा  गरेर आयोजनास्थलसम्म पुग्न सकिन्छ । 

आयोजनाले सुक्खायाममा ६ घण्टा पिकिङ अवधि रहेको यो आयोजनाले ऊर्जा सन्तुलन मिलाउन सहयोगी हुने अपेक्षा गरिएको छ । नेपालका अधिकांश जलविद्युत् आयोजनाहरु नदी प्रवाहमा आधारित छन् । महँगो हुने हुँदा निजी क्षेत्रले अर्ध-जलाशय प्रकृतिका जलविद्युत् आयोजनामा लगानी गर्न खोज्दैनन् । कम्पनीले भने अर्ध-जलाशय आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ । यो आयोजनाबाट वार्षिक सरदर १४७९.८८ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

यो फाइनान्सियल क्लोजर भएर निर्माणमा जान लागेको निजी क्षेत्रको सबैभन्दा ठूलो आयोजना हो । यस अघि निजी क्षेत्रबाट साहस ऊर्जाले ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको सोलुखोला नै निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । जुन नदी प्रवाहमा आधारित प्रकृतिको हो ।

निर्माण थालेको ७ वर्षभित्र व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।


क्लिकमान्डु