घुस माग्ने राष्ट्र बैंकका पूर्वसञ्चालक सुबोध कुमार कर्णलाई अख्तियारले बोलायो



काठमाडौं । लाखौ रुपैयाँ घुस माग्ने नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक सुबोध कुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ ।

राष्ट्र बैंकका सञ्चालक समिति सदस्य भएको समयमा कर्णले व्यवसायीक घरानासँग करिब ३० हजार अमेरिकी डलर घुस मागेका थिए ।उनीसँग उक्त घुस प्रकरणका विषयमा केही बुझ्नु पर्ने भन्दै आयोगले उनको नाममा ३० दिने सूचना जारी गरेको हो ।
राष्ट्र बैंकका सञ्चालकले ३० हजार डलर घुस माग्दा त्यसको सिकार गभर्नर महाप्रसाद अधिकारी हुनु परेको थियो ।

२०७८ चैत चौथो साता कर्णले घुस मागे । सरकारले भनेको नटेरेको, गोप्य सूचना चुहाएको, अर्थतन्त्र बिगारेको, सुझाब माग्दा पनि नदिएको भन्दै गभर्नर अधिकारीलाई सरकारले निलम्बन गर्यो ।

उक्त समयमा अर्थमन्त्री जनार्दन शर्माले भनेका थिए ‘राष्ट्र बैंकका एक सञ्चालकले ३० हजार अमेरिकी डलर घूस मागेको कुरा मैले सुनेको छु, तर अहिलेसम्म त्यसको आधिकारिकता पुष्टि भने गर्न सकेको छैन । त्यस्ता सञ्चालक भएपछि पारदर्शिता हुन्छ ? सबैले आफ्नो ठाउँमा मर्यादा राख्नु पर्दैन ?’

व्यवसायीसँग गाँठो फुकाइदिन्छु भन्दै पैसा माग्ने सञ्चालक थिए सुवोधकुमार कर्ण । जसलाई आज अख्तियारले ३० दिने सूचना निकालेको छ । कर्णले घुस माग्नका लागि पठाएको म्यासेज अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि छ । तर, घुस माग्नेलाई कारबाही नगरेर सरकारले गभर्नरलाई कारबाहीको डण्डा चलाएको थियो ।

उक्त समयमा चौधरी समूहले राष्ट्र बैंकमा खेपिरहेको व्यवधानको गाँठो फुकाइदिने भन्दै कर्णले निर्वाण चौधरीलाई घुस माग्दै मोबाइलमा म्यासेज पठाएका थिए । नबिल बैंक र एनबी बैंकबीचको मर्जरको प्रक्रियालाई अघि बढाउन सघाउने, र सिजी सिमेन्टको सेयर लेखाङ्कन सम्बन्धी प्रस्तावलाई खुलाइदिने भन्दै घुस मागेका थिए ।

कर्णले घुस मागेको कुरा थाहा पाएपछि गभर्नर अधिकारीले उनलाई सञ्चालक समितिको बैठकमा बोलाउन छाडेका थिए । गभर्नरले कर्णलाई राजीनामा दिनुहोस् भन्दा उनी अटेर गर्दै बसेका थिए ।

अधिकारीलाई गभर्नर बन्न नदिन सबैभन्दा बढी लागेका व्यक्ति हुन् कर्ण । विवादित छविका उनै कर्णलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७५ वैशाखमा ५ वर्षका लागि राष्ट्र बैंकको सञ्चालक नियुक्ति गरेका थिए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स र साउथ एशिएन फेडेरेशन अफ एकाउन्टेन्ट्स का पूर्वअध्यक्ष कर्णको विगत राम्रो नहुँदा नहुँदै पनि गभर्नर बन्ने दौडधूपमा खुबै लागेका थिए ।

उनले आफु गभर्नर हुन्छु भन्दै केही व्यापारिक घरानासँग फाइनान्सिङका लागि हारगुहार गरेका थिए । तर, ओली सरकारले अधिकारीलाई गभर्नर बनाए । त्यसपछि कर्ण अधिकारीलाई कसरी फसाउने भनेर दाउ खोजेर बसिरहेका थिए । राष्ट्र बैंकको सञ्चालक समितिभित्रका गोप्य सूचना चुहाउनेदेखि गभर्नरबारे अर्थमन्त्रालयमा नेगेटिभ ब्रिफिङ गर्ने पनि उनै कर्ण नै थिए ।


क्लिकमान्डु