छिपछिपेसहित ३ सहकारीको पैसा सांसदको रिसोर्टदेखि मिटर ब्याज र फेक लगानीसम्म



काठमाडौं । छिपछिपे उपभोक्ता सहकारी संस्थाका तत्कालीन अध्यक्ष हालका कार्यालय प्रमुख योगेन्द्र पाण्डेले विभिन्न व्यक्तिको काल्पनिक खाता खडा गरी ऋण लगानी गरेको खुलेको छ ।

सहकारीको पैसा राप्रपाकी सांसद गीता बस्नेतको रिसोर्टदेखि मिटरब्याजमा समेत लगानी गर्ने गरेको पाइएको छ । सहकारीबाट सयकडा २ रुपैयाँ तथा २४ प्रतिशत ब्याजमा पैसा ऋण लगानी हुने गरेको थियो ।

सहकारीले सनराइज बचत तथा ऋण सहकारी संस्थामा कारोबार गरी सो संस्थाको बैंक खातामा ५४ लाख ४८ हजार ५६८ रुपैयाँ जम्मा गरी हिनामिना भएको छ । उक्त रकम गीता बस्नेत, ढुण्डिराज गौतम, कृष्ण प्रसाद ज्ञवाली, नरेन्द्र बहादुर रिमाल र योगेन्द्र पाण्डे रहेका छन् ।

२०७२ पुस १५ देखि २०८० माघ २३ गतेसम्म सहकारीको सञ्चालकमा योगेन्द्र पाण्डे, बसन्त मोहन अधिकारी, नगेन्द्र बहादुर रिमाल, शोभा शर्मा, टेक बहादुर शाही, प्रकाश सापकोटा, ढुण्डीराज गौतम, कृष्ण प्रसाद ज्ञवाली, गौमतादेवी न्यौपाने, जानकी क्षेत्री, गोपिकृष्ण शर्मा, कमला कुमारी न्यौपाने, बिक्रम कार्की, सुदिपा चापागाई, सुनिता कुमारी न्यौपाने, निम प्रसाद पाण्डे, नरेन्द्र न्यौपाने, नर बहादुर विक र श्यामलाल भुषाल रहेका छन् । उनीहरुले गैरकानूनी रुपमा फर्जी ब्याज खर्च लेखी सहकारीको नाफा घटाई १ करोड १६ लाख ३८ हजार २९९ रुपैयाँ रकम हिनामिना गरेका छन् ।

उनीहरुले ३ हजार २०९ जना बचतकर्र्ताको १६ करोड ५६ लाख ९४ हजार ३१ रुपैयाँ अपचलन गरेका छन् ।

बस्नेतसहितले सनराईज बचत तथा ऋण सहकारी संस्था, छिपछिपे उपभोक्ता सहकारी संस्था र नमस्ते वचत तथा ऋण सहकारी संस्थाबाट लगेको पैसा अर्पाटमेन्ट खरिद गर्न, कृष्णसार रिर्सोट संचालन गर्न, विभिन्न ईन्टरनेटमा लगानी गरेको सहकारीका अध्यक्ष योगेन्द्र पाण्डेले बताए । ‘बस्नेतले आफुले किनेका विभिन्न सामानहरुको रकम भुक्तानी गर्न लगाउने, गिता बस्नेत र नगेन्द्र बहादुर रिमालले कारोबार गर्ने विभिन्न ब्यक्तिहरुको खातामा दाखिला गर्न, गिता बस्नेत र नगेन्द्र बहादुर रिमालको खातामा रकम राख्न लगाउने र उक्त रकमलाई विभिन्न नाममा पेश्की देखाउन लगाउने कार्य गर्ने थिए’ उनले भने ‘सोही क्रममा सनराईज सहकारीबाट २० करोड भन्दा बढि रकम लगी कृष्ण ज्ञवाली र मेरो नाममा समेत पेश्की देखाउन लगाई गिता बस्नेत र नगेन्द्र बहादुर रिमालले आफ्नो तथा आफुसँग संलग्न ब्यक्तिहरुको खातामा रकम दाखिला गर्न लगाई रकम अपचलन गरि सनराईज सहकारीमा समेत हिनामिनामा गरिएको हो ।

सहकारीका अध्यक्ष योगेन्द्र पाण्डेका अनुसार नियामक निकायको स्वीकृतबिनै ३ वटा सहकारीबाट वित्तीय कारोबार हुने गरेको थियो । पाण्डे आफू सनराइज सहकारीको सचिव र छिपछिपे सहकारीको अध्यक्ष र नरेन्द्र बहादुर रिमाल सनराइज सहकारी र नमस्ते सहकारीको अध्यक्ष र छिपछिपेको सचिव रहेका थिए ।

छिपछिपेको सचिव, सनराइजको सञ्चालक दुण्डीराज गौतम र छिपछिपेको सदस्य, कृष्ण प्रसाद ज्ञवाली सनराइजको सञ्चालक र छिपछिपेको सदस्य रहेका थिए । पाण्डे, रिमाल गौतम र ज्ञवालीको सल्लाहमा विभिन्न सहकारीमा बढी अन्य व्यक्तिहरुलाई समितिमा राखी निर्णय गराई कारोबार गर्न सजिलो हुने र सो कार्य बापत विभिन्न सहकारी सञ्चालन गरी विभिन्न क्षेत्रको सहकारीको रकम लगानी गर्न सकिने सल्लाह गरेर नै ठगीमा संलग्न रहेको पाण्डेले बयान नै दिएका छन् ।

उनले नगेन्द्र बहादुर रिमालमार्फत विभिन्न रिसोर्ट, इन्टरनेट कम्पनी, ऋणी सदस्यहरुको घर जग्गा खरिद बिक्री तथा ऋणीहरुलाई मिटरब्याजमा रकम लगानी गर्ने गरेको स्वीकारेका छन् ।

पाण्डेको अनुसार सहकारीको उक्त रकम विभिन्न खातामा दाखिला भएको र सो रकम संचालक समितिका पदाधिकारीहरुले समेत लिएका हुन् । २ लाख १९ हजार २५० रुपैयाँ अपुग भएको रकम मध्ये १ लाख ९९ हजार ५०० रुपैयाँ सहकारीका तत्कालिन संचालक समितीका सदस्य ढुण्डीराज गौतमको निर्देशनमा सनराईज सहकारीसँग अन्तर सहकारी कारोबार भएको थियो ।

‘सनराईज सहकारीको सदस्य युवराज भट्ट नामको चेक भरपाई मार्फत रकम भुक्तानी दिनु म पछि छिपछिपे सहकारीले नै नगद पाउनेगरि दाखिला गर्दिन्छु भनि मलाई भने पश्चात् मेरो निर्देशनमा कर्मचारीलाई भुक्तानी दिन भनेकोले रकम गएको हो’ पाण्डेले सरकारी वकिलको कार्यालयमा बयानका क्रममा भनेका छन् ‘उक्त रकम ढुण्डीराज गौतमले सहकारीमा सोही दिन दिने भनेको रकम नदिई बेईमानी गरि यहाँको रकम लगी गएकोमा मैले उनीसँग उक्त रकम दाखिला गरिदिनु भनि फोनमार्फत कुरा गर्दा समेत निजले सनराईज सहकारीको लोन उठाएर मैले दिउला भनि जवाफ दिएको छु ।’

पाण्डेले त्यो रकम ढुण्डीराज गौतमले तिर्नुपर्ने जनाएका छन् ।

सहकारीको नाममा नै बैंक खाताबाट कारोबार गर्नुपर्नेमा सुरुका दिनहरुमा सफ्टवयरमा सिस्टम नभएकोले आफ्नो नाममा ई–सेवा खोली कारोबार गर्ने र उक्त कारोबारलाई आफ्नो बचत खातामा देखाउने गरिएको जनाएका छन् ।

सहकारीको सिस्टममा रहेको नमस्ते सेभिङ्ग एण्ड क्रेडिट र नमस्ते सेभिङ्ग गुलरिया नाम दिई खोलेको खाताको लेजर विवरण तथा भौचर विवरण, सहकारीको रकम निकासी गरि कृष्णसार रिर्सोट प्रा.ली. र सो कृष्णसार रिर्सोट प्रालिको संचालक रहेका संजिब कुमार महतोको नाममा दाखिला भएको पाण्डेले स्वीकारेका छन् ।

कृष्णसार रिर्सोट प्रालि, र उक्त कृष्णसार रिर्सोट प्रालि को संचालक रहेका संजिब कुमार महतोको नाममा दाखिला भएको ६५ लाख ५५ हजार भौचर फेला परेको छ ।

कृष्णसार रिर्सोट प्रालिका सञ्चालकमा गिता बस्नेत, सहकारीका सचिव तथा उनको ज्वाई नगेन्द्र बहादुर रिमाल र संजिब कुमार महतो र पाण्डे थिए ।

उक्त रिर्सोटमा लगानी गर्ने लगायत विभिन्न क्षेत्रमा सहकारीको रकम प्रयोग गर्ने कार्य गिता बस्नेत र नगेन्द्र बहादुर रिमालको नै सल्लाहमा हुने गरेको पाण्डको दाबी छ ।

रिमालले रिर्सोटमा सेयर रकम थप गर्न पर्यो भनेपछि आफूले चितवनको सनराईज सहकारीबाट ५ करोड पाँच करोड लगानी गरेको पाण्डेले जनाए । सनराईज सहकारीबाट लगेको ५ करोडले भवन संरचना लगायतका निर्माण गरिएको छ । रिसोर्टमा छिपछिपे सहकारीबाट १ करोड लगानी भएको थियो ।

रिमाल र सांसद गीता बस्नेतको नै योजनामा सहकारीका बचतकर्ताहरुबाट जम्मा भएको रकम कृष्णसार रिर्सोट प्रालिमा लगानी भएको हो । रिमाल चितवनको सनराइज सहकारीका वर्तमान अध्यक्ष हुन् भने छिपछिपेका तत्कालीन सचिव हुन् ।

सांसद बस्नेतका साथै योगेन्द्र पाण्डे, संजिव कुमार महतो र नगेन्द्र बहादुर रिमाल समेत संग गठमेल गरी बस्नेतले आफ्नो ज्वाई नगेन्द्र र उनका साथिहरू मार्फत सहकारीको सम्पत्ति प्रयोग गरी आफ्ना व्यक्तिगत कारोवार मिलान गर्न खोजेको देखिएको छ ।

बस्नेतले सञ्चालन गरेको कृष्णसार रिसोर्टको जग्गा जमिन, भवन संरचना, डेकोरेसन लगायतका काममा प्रयोग गर्न, चुनावी खर्चका लागि प्रयोग गर्न, निजी सम्पत्ति आर्जन गर्न प्रयोग गरी लगेको, सहकारीको हिनामिना गरेको देखिएको छ । छिपछोपे सहकारीको ९६ लाख रुपैयाँ हिनामिना गरेको, उक्त रकम कृष्णसार रिसोर्टको नाममा सोझै दाखिला गराई हिनामिना गराएको पाइएको छ ।

बस्नेतले ज्वाई अध्यक्ष रहेको सनराईज सहकारीमा रकम दाखिला गर्न लगाई उक्त रकमबाट सनराईज सहकारी मार्फत रकम लगि हिनामिना तथा अपचलन गरेको पाइएको छ । जसका कारण राष्ट्रिय सहकारी बैंकमा तिर्न नसकेको कर्जाको रकम तिर्न प्रयोग गरी ५४ लाख हिनामिना गरेको पाइएको छ । बस्नेतले सहकारी ऐन, २०७४ को दफा १२२ को (त) बमोजिमको कसूर गरेको पुष्टि भएको छ ।

सांसद बस्नेतसहित २५ जनाविरुद्ध मुद्दा

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी राप्रपा सांसद गीता बस्नेतसहित २५ जनाविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

पूर्वी नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताहरुले राखेको रकम अपचलन गरेको आरोपमा सांसद र उनका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको थियो ।

बस्नेत, उनका ज्वाइँ नगेन्द्र रिमालसहितका व्यक्तिहरु मिलेर बचतकर्ताहरुको ९६ करोड रुपैयाँ बर्दियाको कृष्णसार रिसोर्टमा लगानी गरी अपचलन गरेको आरोप छ ।

उक्त सहकारीका ३ सय ६६ जना पीडित बचतकर्ताहरुले सांसद बस्नेतसहितका व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेपछि बस्नेतका ज्वाइँ पक्राउ परेका थिए । सांसद बस्नेत भने ज्वाइँ पक्राउ परेपछि फरार थिइन् । बस्नेतका ज्वाइँ रिमाल भने सहकारीको सचिव थिए ।


क्लिकमान्डु