सहकारीको ९६ करोड अपचलन गरेको आरोपमा राप्रपा सांसद बस्‍नेतसहित २५ विरुद्ध मुद्दा दर्ता



काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी राप्रपा सांसद गीता बस्नेतसहित २५ जनाविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

पूर्वी नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताहरुले राखेको रकम अपचलन गरेको आरोपमा सांसद र उनका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको थियो ।

बस्नेत, उनका ज्वाइँ नगेन्द्र रिमालसहितका व्यक्तिहरु मिलेर बचतकर्ताहरुको ९६ करोड रुपैयाँ बर्दियाको कृष्णसार रिसोर्टमा लगानी गरी अपचलन गरेको आरोप छ ।

उक्त सहकारीका ३ सय ६६ जना पीडित बचतकर्ताहरुले सांसद बस्नेतसहितका व्यक्तिहरुविरुद्ध मुद्दा दायर गरेपछि बस्नेतका ज्वाइँ पक्राउ परेका थिए । सांसद बस्नेत भने ज्वाइँ पक्राउ परेपछि फरार थिइन् । बस्नेतका ज्वाइँ रिमाल भने सहकारीको सचिव थिए ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा बस्नेतसहित २५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।


क्लिकमान्डु