सहकारी ठगीमा मुछिएकी राप्रपा सांसद बस्नेतसहित ८ विरुद्ध पक्राउ पुर्जी, अध्यक्ष र प्रबन्धक मिटरब्याजी



काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद मुछिएका छन् ।

सहकारीका बचतकर्ताको करोडौ रुपैयाँ अपचलन गरेको भन्दै राप्रपा सांसद गीता बस्नेतसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । जिल्ला अदालत नवलपुरले सहकारी ठगी प्रकरणमा बस्नेतसहित ८ जनाविरुद्ध बैशाख १४ गते पक्राउ पुर्जी जारी गरेको छ ।

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था, चितवनको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीमा पनि एउटै समूहको संलग्तना रहेको पाइएको छ ।

स्रोतका अनुसार कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १६ करोड ५८ लाख ९२ हजार रुपैयाँभन्दा बढी, चितवनको सनराइज सहकारीबाट बचतकर्ताको २० करोड रुपैयाँ भन्दा बढी र बर्दियाको नमस्ते सहकारीबाट ७ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।

बचतकर्ताले दिएको उजुरी र अहिलेसम्मका प्रारम्भिक अनुसन्धानले बस्नेतको समेत संलग्नता देखाएको छ । उनको समेत संलग्ना देखिएको र उनीसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

राप्रपाले बर्दियाबाट गीता बस्नेतलाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको थियो । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा मनोनित गरेका थिए । आरोपित बस्नेतलाई सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ छ । उनी प्रहरीको फरारको सूचीमा रहेको बताइएको छ ।

सनराइज बचत तथा ऋण र नमस्ते सहकारीका एकै व्यक्तिको संलग्नता रहेको पाइएको छ । एकै व्यक्तिले संगठित रुपमा सहकारीको आडमा बचतकर्ता ठगेको पाइएको छ ।

छिपछिपे उपभोक्ता सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै संस्थाका केही व्यक्तिलाई प्रहरीले फक्राउ समेत गरिसकेको छ ।

पक्राउ पर्नेमा छिपछिपे उपभोक्ता सहकारीका प्रबन्ध निर्देशक योगेन्द्र पाण्डे, सनराज बचत तथा ऋण सहकारीका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमाल र बर्दियाका शिवलाल लामिछाने रहेका छन् । उनीहरु गत चैतमा नै पक्राउ परेका हुन् । उनीहरुले तीन वटै सहकारीको पैसा लिएर अपचलन गरेको पाइएको छ । पाण्डे २०७२ सालदेखि २०७९ सम्म सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक थिए । उनीहरुले सहकारीबाट लिएको पैसा मिटरब्याज लगाउने गरेको अध्ययनले देखाएको छ ।

सहकारीले बचतकर्ताको बचत ठगेपछि उजुरी बढेको थियो । उजुरी परेपछि गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अनुसन्धान नै गरेको थियो । अनुसन्धानले सहकारीका प्रबन्ध निर्देशक योगेन्द्र पाण्डे, अध्यक्ष गोपी शर्मालगायतले पैसा अपचलन गरेको देखाएको छ ।

करिब दुई महिना लगाएर सहकारी रजिष्टारको कार्यालय गण्डकीले गरेको अनुसन्धानबाट बचत हिनामिना भएको प्रतिवेदनले देखाएको छ ।

निर्मल गौतम नेतृत्वको छानबिन समितिले तयार गरेको प्रतिवेदनमा भनिएको छ, ‘सहकारीको तत्कालीन सञ्चालक र हालका केही पदाधिकारीको समेत गम्भीर प्रकृतिको कैफियत वित्तीय विश्लेषण तथा छानविनका क्रममा देखिन आएकोले त्यहीअनुसार कारबाही गर्नुपर्ने देखिन्छ ।’

सनराइज सहकारी हाल बन्द छ । सहकारीका केही व्यक्ति भने अझै फरार रहेका छन् ।


क्लिकमान्डु