जापान निर्यात हुन थाल्यो नेपाली घीउ



काठमाडौं । कोशी प्रदेशबाट पहिलो पटक नेपाली घीउ जापान निर्यात हुन थालेको छ ।

विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्राइभेट लिमिटेडले उत्पादन गरेको परम ब्राण्डको घीउ जापानमा निर्यात हुन थालेको हो । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा आइतबार बिराटनगरमा एक कार्यक्रमको आयोजना गरि परम ब्राण्डको घिउ जापान निर्यात गर्ने सुभारम्भ भएको छ ।

सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज जापान घ्यू निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बन्न सफल भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार निर्यात भएको परम घीउको शुभारम्भ गर्दै प्रदेश सचिव लेखनाथ दाहाललाई उद्योगबाट उत्पादित अन्य दुग्धजन्य सामग्रीमा अनुदानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

उद्योगले जापानको एक निजी कम्पनीसँग एक वर्षमा ५० हजार किलो घीउ बिक्री गर्ने सम्झौतापत्रमा हस्ताक्षर पनि गरेको छ । सम्झौतापत्र अनुसार उद्योगले पहिलो चरणमा ५० लाख रुपैयाँबराबरको ५ हजार किलो घीउसहित चिउरा, चिया रंग र मह जापान पठाएका छन् ।

उद्योगले परम घीउ जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक किलोमा १ सय २० रुपैयाँ अनुदान उपलब्ध गराउने सुविधा प्रदान गरेको छ । नेपालमा परम घीउको मूल्य प्रतिकिलो १ हजार १ सय रुपैयाँ तोकिएको छ । विराटनगरका अनुजकुमार यादव, मनोजकुमार यादव, प्रेमकुमार राठी र गुरुप्रसाद अधिकारीले विराटनगर महानगरपालिकाको वडा नम्बर १४ स्थित जतुवामा ३० करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याएका छन् ।

साढे ६ कठ्ठा जग्गामा निर्माण गरिएको उद्योगमा धुलो दुध, डेरी दुध र घीउ गरी ३ प्रकारको बेग्ला बेग्लै प्लान्ट सञ्चालनमा रहेका छन् । नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार २०७६ सालमा स्थापना भएको उद्योगले ५ वर्षपछि आफ्नो उत्पादन परम घीउ जापान निर्यात गर्न सफल भएको छ ।

उद्योगले उत्पादन गरेको दुग्धजन्य पदार्थमा कोशी प्रदेश सरकारले अनुदान प्रदान गर्दैआएको छ । तर अनुदान रकमले मात्रै उत्पादित दुग्धजन्य पदार्थ जापान निर्यात गर्न सक्ने अवस्था नरहेको उद्योगका सञ्चालक समिति सदस्य मनोजकुमार यादवले बताए ।


क्लिकमान्डु