धनी श्रममन्त्री अर्यालको सम्पत्ति: १५० तोला सुन, ८ करोड‍को घरजग्गा, १ करोड ६८ लाखको गाडी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मन्त्रिमण्डलमा सबैभन्दा धनी देखिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्री अर्यालको सम्पत्ति विवरणअनुसार ३ करोड मूल्यमा काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटरमा बनेको घर रहेको छ ।

श्रीमती अम्बिका केसीको नाममा रहेको घर ३ करोड रुपैयाँ खरिद गरिएको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उक्त घर किन्ने स्रोत निजी कमाइ रहेको जनाइएको छ ।

यसबाहेक अर्यालसँग १२ स्थानमा जग्गा जमिन रहेको छ । अर्यालकी श्रीमती केसीको नाममा काठमाडौं र धादिङमा गरेर ६ स्थानमा र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरि ६ स्थानमा सम्पत्ति रहेको छ ।
यी सम्पत्ति ५ करोड २८ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख गरिएको छ ।

श्रममन्त्री अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौजदात भएको उल्लेख छ । यसको प्राप्तिको स्रोत व्यापार भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै उनीसँग सुन १५० तोला, चाँदी १ सय तोला र हिरा १० तोला रहेको छ । यसको खरिद मूल्य ८८ लाख ३४ हजार ५ सय रहेको र यसको स्रोत व्यापार रहेको उल्लेख गरेका छन् ।

त्यस्तै मन्त्री अर्यालसँग ६ वटा संस्थाको सेयर रहेको छ । मेगा बैंकमा १० हजार,विग इन्भेस्टमेन्टमा ३५ हजार,पिपुल इन्भेस्टमेन्टमा ९ हजार,जनसागर सहकारीमा १० हजार, सुवर्णभूमि सहकारीमा १ हजार र संयम सहकारीमा २ हजार गरि कुल ६७ हजार कित्तामा ६७ लाख मूल्यको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसको स्रोत पनि व्यापार भएको उल्लेख छ ।

त्यस्तै उनले सहकारी र व्यक्तिसँग गरि २ करोड ५० लाख ऋण लिएकोमा १ लाख ५० तिरेको उल्लेख गरिएको छ ।

अर्यालको नाममा १ करोड २५ लाखमा खरिद गरेको टोयोटा प्राडो कार र उनकी श्रीमतीका नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी रहेको छ ।

अर्यालले निजी कमाइबाट ब्याङ्केट, ट्राभल रेमिट्यान्स र ह्याण्डिक्राफ्ट पनि खरिद गरेको उल्लेख गरेका छन् । यी सबै कम्पनी २ करोड २३ लाखमा खरिद गरेको र त्यसको स्रोत निजी कमाइ भएको अर्यालले चैत ६ गते पेस गरेको विववरणमा उल्लेख छ । उनी वर्तमान सरकारका सबैभन्दा धनी मन्त्रीको रुपमा देखिएका छन् ।


क्लिकमान्डु