लचिलो मौद्रिक नीति बनाउने राष्ट्र बैंकको घोषणा, बजेटले निर्देशित गरेका व्यवस्था सम्बोधन गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने घोषणा गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवदेन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने बताएको छ ।

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्ण लचिलो बनाउने बताएको थियो । त्यसअघि सजगतापूर्ण कसिलो मौद्रिक नीति लागू गर्दै गर्दै आएको केन्द्रीय बैंकले विस्तारै लचिलो मौद्रिक नीति अपनाउन थालेको हो ।

राष्ट्र बैंकले पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको जनाएको छ ।

‘आन्तरिक आर्थिक गतिविधि एवम् मुद्रास्फीतिको अवस्था साथै नेपाल सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटलाई दृष्टिगत गरी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तर्जुमा गर्दा यथोचित व्यवस्था गरिनेछ,’ माैद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट बनाइरहेको छ । बजेट १५ जेठमा सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेटले निर्देशित गर्ने आगामी आर्थिक वर्षको आर्थिक तथा मुद्रास्फीतिलाई मौद्रिक नीतिलेसमेत निरन्तरता दिन्छ। त्यसो त सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी र महंगीदर नियन्त्रण गर्ने लक्ष्यका साथ वर्षेनी राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ ।


क्लिकमान्डु