नेपालमा पनि भारतीय मसला ‘एमडीएच’ र ‘एभरेस्ट’ को आयात र बिक्री बितरणमा प्रतिवन्ध



काठमाडौं । सरकारले भारतको प्रसिद्ध दुई ब्राण्डको मसलाको आयात, बिक्री बितरण तथा उपभोगमा प्रतिवन्ध लगाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको एमडीएच र एभरेष्ट ब्राण्डको मसलाको आयात, बिक्री बितरण तथा उपभोगमा प्रतिवन्ध लगाएको हो ।

तर विभागले ति दुवै ब्राण्डको केहि विशिष्ट मसलामा प्रतिवन्ध लगाएपनि बिहिबार साँझसम्म यो बिषयमा कुनै आधिकारिक सूचना भने जारी गरेको छैन ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार भारतको एमडीएच ब्राण्डको ३ र एभरेष्ट ब्राण्डको १ गरी ४ प्रकारको मसलाको आयात अनुमति तत्कालको लागि स्थगित गरिएको छ ।

विभागले एमडीएच ब्राण्डको मद्रास करि पाउडर(स्पाइस ब्लेण्ड फर मद्रास करी), साम्भर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला पाउडर र एभरेष्ट ब्राण्डको फिस करी मसलाको आयातमा प्रतिवन्ध लगाएको हो ।

यस्ता मसलको आयातमा प्रतिवन्धका साथै बिक्री बितरण र उपभोग गर्न पनि विभागले प्रतिवन्ध लगाएको हो । विभागले बजारमा यो मसला उपलब्ध भएको भए आयातकर्तालाई बजारबाट फिर्ता लैजान पनि निर्देशन दिएको छ । साथै राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई उक्त मसलामा पाइएको भनिएको इथाइलिन अक्साइड रेसिड्युको परीक्षण पनि उच्च प्राथमिकतामा राख्न पनि आफ्ना कार्यालयहरुलाई निर्देशन दिएको छ ।

‘एमडीएचको तीन प्रकारको र एभरेष्टको एक गरी चार प्रकारको मसलाको आयात, बिक्री बितरण र उपभोगमा तत्कालको लागि प्रतिवन्ध लगाएका छौं,’ उनले भने,‘परीक्षणको प्रारम्भिक चरणमा हानिकारक तत्व भेटिएकाले तत्कालको लागि आयात, बिक्री बितरण तथा उपभोगमा रोक लगाइएको हो ।

विभागले भारतको ति दुवै कम्पनीको मसलाको नमूना लिएर गहन परीक्षण गर्ने काम सुरु गरेको छ । उक्त परीक्षणको प्रतिवेदन आउन समय लाग्नेछ । यी दुई ब्राण्डका मसलामा क्यान्सर गराउने रसायन रहेको समाचार सार्वजनिक भएपछि नेपाली उपभोक्तामा चासो र चिन्ता बढेको हो । दुवै ब्राण्डका विभिन्न मसला नेपाली बजारमा लोकप्रिय छन् ।

हङकङ र सिंगापुरले ति दुवै ब्राण्डको मसलामा अनुमतियोग्य स्तरभन्दा बढी कार्सिनोजेनिक कीटनाशक इथाइलिन अक्साइड पत्ता लगाएपछि बिक्रीमा प्रतिबन्ध लगाएका थिए । बीबीसीका अनुसार परीक्षणका क्रममा करी पाउडर, साम्भर मसला तथा मिश्रित मसलामा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने इथाइलिन अक्साइड पाइएको थियो।

इथाइलिन अक्साइडमा क्यान्सरको कारक तत्व कार्सिनोजेन हुने भएकाले मसला बिक्रीमा प्रतिबन्ध गरिएको हो । सिंगापुरको खाद्य सुरक्षा विभागले हङकङको सूचनाका आधारमा आफ्नो मुलुकमा एभरेष्ट र एमडीएचका मसला बिक्रीमा प्रतिवन्ध लगाएको छ ।

इथाइलिन अक्साइड रंगविहीन ज्वलनशील ग्यास हो । यसको प्रयोग कृषि, स्वास्थ्य तथा खाद्य प्रशोधन उद्योगमा कीटनाशकका रुपमा गरिन्छ । मसला उद्योगमा सुक्ष्मजीवले पु¥याउने असर र किराबाट मसलामा हुन सक्ने क्षति न्यूनीकरणका लागि यसको प्रयोग हुन्छ । विभिन्न स्वास्थ्य संगठनहरुले यसलाई कार्सिनोजेनको वर्गमा राखेका छन् । यो रसायनको खतरालाई मध्यनजर गर्दै धेरै मुलुकले यसको प्रयोगबारे कडा कानुनसमेत बनाएका छन् ।

भारतीय मसलाको गुणस्तरबारे यसअघि अमेरिकामा पनि प्रश्न उठेको थियो । सन २०२३ मा अमेरिकी खाद्य तथा औषधीसम्बन्धी नियामकले साम्भर तथा गरम मसला बजारबाट फिर्ता लान भनेको थियो । ती मसला प्रयोगशालामा परीक्षण गर्दा सालमोनेला पाइएको थियो । यो ब्याक्टेरियाका कारण झाडापखाला, पेटको सिकायत, ज्वरो आउने र रिँगटा लाग्ने समस्या उपभोक्तामा देखिएको थियो ।


क्लिकमान्डु