जापानको आर्थिक वृद्धिमा आकलन गरेभन्दा भारी गिरावट



एजेन्सी । जापानको आर्थिक वृद्धिदर आकलन गरेभन्दा भारी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । २०२४ को सुरुवातदेखि नै जापानको आर्थिक वृद्धि अपेक्षा गरेभन्दा बढी संकुचन भएको हो । जवकि बेलायत तीब्र गतिमा जीडीपी बढाउन सफल जी ७ देशको रुपमा चिनिएको छ ।

जापानको जीडीपी भने जनवरीदेखि मार्चसम्मको पहिलो त्रैमासमा २ प्रतिशतले संकुचन भएको छ । जुन गिरावट गत वर्षको अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिनाको तुलनामा भएको १.५ प्रतिशतको संकुचनभन्दा पनि कम हो । यस अवधिमा उपभोक्ताको कम खर्चका कारण विकासमा असर परेको साथै पूँजीगत खर्च तथा शुद्ध निर्यातमा पनि गिरावट आएको बताइएको छ ।

जापानमा यस्तो अवस्था आउनुका लागि नयाँ वर्षकै दिन टोकियो नजिकै २ सय जनाको मृत्यु हुने गरी आएको भूकम्प र कार निर्माता कम्पनी डाइहात्सुको सुरक्षा प्रकरणलाई मुख्य रुपमा कारक मानिएको छ ।

यसैबीच बेलायतले भने पहिलो त्रैमासमा ०.६ प्रतिशतको वृद्धि गरेको छ । जुन अमेरिकाको ०.४ को वृद्धिदरभन्दा धेरै हो । यही अवधिमा इटालीले ०.३ प्रतिशतले वृद्धि गरेको छ भने जर्मनी र फ्रान्सले ०.२ प्रतिशतले वृद्धि गरेका छन् । क्यानडाको तथ्यांक सार्वजनिक नभए पनि क्यानडाले ०.६ प्रतिशतको वृद्धि गरेको आकलन गरिएको छ ।

जापानको आर्थिक वृद्धिमा गिरावट आएको विषय भने बैंक अफ जापानका लागि चुनौतीको रुपमा देखिएको बताइन्छ । जवकि बैंक अफ जापान ठूला प्रोत्साहन कार्यक्रम चलाएर मौद्रिक नीतिलाई सन्तुलित बनाउन प्रयासरत देखिएको छ ।


क्लिकमान्डु