आन्तरिक अर्थतन्त्रलाई सुधार गरी अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछः अर्थसचिव



फाइल तस्बिर

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा अर्थसचिव मरासिनीले सरकारको प्रमुख प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी चलायमान बनाउने रहेको बताए ।

विगतमा वाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भए पनि अहिले वाह्य अर्थतन्त्र सकारात्मक भएको भन्दै उनले आन्तरिक अर्थतन्त्रमा सुधारको आवश्यकता देखिएको बताए ।

सरकारसँग विदेशी मुद्रा सञ्चिति मात्रै १२ महिनाभन्दा बढी आयात र निर्यात गर्नसक्ने क्षमता रहेको उनले बताए । अर्थसचिव मरासिनीले बजेट र मौद्रिक नीति अर्थतन्त्रमा देखिएको शिथिलतालाई चिर्नसक्ने गरी आउने दाबी गरे ।

सरकारले ल्याउने बजेटले अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले सोचे अनुसारको आर्थिक वृद्धि गर्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने उनको भनाइ छ ।

‘१२ महिना भन्दा बढीको आयात निर्यात धान्नसक्ने विदेशी मुद्रा सञ्चिती रहेको छ । यसरी हेर्दा वाह्य क्षेत्र सकारात्मक छ,’ उनले भने, ‘अब सरकारले आन्तरिक अर्थतन्त्रमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले बनाउने अबका नीतिहरु निजी क्षेत्रले अर्थतन्त्रमा सिथिलताको महशुस गर्नुभएको छ । त्यसलाई चिर्ने हिसावले जान्छ ।’

अहिले क्षेत्रगत समस्याहरु रहेको उनले बताए । जलविद्युतमा निजी क्षेत्र प्रवेशसँगै उत्पादनमा फड्को मारिसकेको उनले बताए। ‘अब वितरण र निर्यातमा पनि फड्को मार्नुपर्ने छ । जलविद्युत नेपालको तुलनात्मक लाभको क्षेत्र हो,’ उनले भने, ‘ नेपालको अर्थतन्त्रलाई हरित अर्थतन्त्रको रुपमा विकसित गर्ने भनेर पनि अन्तर्राष्ट्रिय रुपमा प्रतिवद्धता जनाएका छौं । जलविद्युतको क्षेत्रलाई थप सुधार गर्दै लैजाने भन्ने हो ।’


क्लिकमान्डु