सहकारी ठगी प्रकरणको छानबिन गर्न नेकपा एसको माग



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गरेको छ ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेको पार्टीको बुझाइ रहेको छ । बैठक समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग भएको उनले बताए । सहकारी ठगी प्रकरणमा नेकपा एसका नेता समेत रहेका छन् ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद पाण्डे श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीबाट ऋण लिएका छन् । उनले समयमा नै ऋण नतिरेको भन्दै सहकारीले ऋण तिर्न फागुन १८ गते २१ दिने अल्टिमेटम दिएको थियो ।

एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डेले ऋण तिर्नुको सट्टा शक्तिको दुरुपयोग गरेर संस्थालाई समस्थाग्रस्त घोषणा गरेका छन् । उक्त सहकारीलाई फागुन अन्तिममा सहकारी विभागको सिफारिसमा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले लिएको ऋण नतिरेपछि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीबाट कर्जा लिएको थियो । पाण्डे अध्यक्ष हुँदा सहकारीबाट ऋण लिएका थिए ।


क्लिकमान्डु