बैंक खाता रोक्का र फुकुवाको अस्पष्टता चिरिँदै, यस्तो हुँदैछ व्यवस्था



काठमाडौं । विभिन्न कारणले खाता रोक्का गर्नुपर्ने स्थितिमा रहेको अस्पष्टतालाई नेपाल राष्ट्र बैंकले चिर्ने भएको छ । केन्द्रीय बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धि विनियमावली, २०८१ जारी गर्दै बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धि व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउने भएको हो ।

केन्द्रीय बैंकले विनियमावली जारी गर्न मस्यौदा तयार पारिसकेको छ । यसैगरी मस्यौदामा सुझाव दिन सरोकारवालालाई अनुरोध पनि गरेको छ ।

प्रस्तावित व्यवस्थाअनुसार कसुर व्यक्तिको खाता ३ प्रकारले रोक्का हुन सक्नेछ । प्रचलित कानून बमोजिम नेपाल सरकार वादी हुने फौजदारी कसूर गरेको व्यक्ति वा संस्थाको सम्पूर्ण खाता वा निश्चित खाता वा खातामा रहेको निश्चित रकममात्र रोक्का गर्न सकिने प्रस्ताव केन्द्रीय बैंकले गरेको छ ।

खाता रोक्का गर्न व्यहोरा खुलाई राष्ट्र बैंक समक्ष लिखित अनुरोध गरेको स्थितिमा केन्द्रीय बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का वा फुकुवा गर्न निर्देशन दिने व्यवस्था प्रस्ताव गरिएको छ । यस्तो निवेदन तोकिएको, अधिकारप्राप्त अनुसन्धानकर्ता वा कानुन बमोजिम नियुक्त भएको व्यक्तिले दिन सक्नेछ । निवेदन दिँदा कारणसहित परिचय खुल्ने आधिकारिक विवरणसमेत सामेल गर्नुपर्नेछ भने निश्चित खाता रोक्का गर्नुपर्ने हुँदा खाता नम्बर र बैंकको विवरण तथा आंशिक खाता रोक्का गर्न रकमसमेत उल्लेख गर्नुपर्छ ।

फुकुवा गर्न भने तोकिएको, अधिकारप्राप्त अनुसन्धानकर्ता वा कानुन बमोजिम नियुक्त भएको व्यक्तिले दिएको निवेदन वा अदातलको आदेश बमोजिम हुनेछ ।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ । विभाग प्रमुखले तोकेको कर्मचारीले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का गर्न निर्देशन दिनुपर्छ । र, सोही निर्देशनबमोजिम बैंकले प्राकृतिक व्यक्ति वा कम्पनीको बैंक खाता रोक्का गर्नुपर्नेछ ।

प्रस्तावित व्यवस्थामा १५ दिनभित्र राय सुझाव दिनुपर्नेछ । प्राप्त सुझावउपर छलफल गरी संशोधन आवश्यक रहे त्यसो गरेर यथासक्य चाँडो विनियमावली जारी गरिने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले प्रस्ताव गरेअनुसार ३ प्रकारको खाता रोक्काः

१. सम्पूर्ण खाता रोक्का : बैंक तथा वित्तीय संस्थाहरुमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का

२. निश्चित खाता रोक्का: बैंक तथा वित्तीय संस्थामा खोलिएका निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का

३. आंशिक खाता रोक्का: बैंक तथा वित्तीयमा रहेको खातामा रहेको रकममध्ये निश्चित रकममात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावतरुपमा प्रयोग गर्न सक्ने गरी गरिएको खाता रोक्का


क्लिकमान्डु