कर्पोरेट वारको शिकारमा ३१ खर्बको पुँजी बजारः सरकारको लाचारीले साढे ४ महिनादेखि बोर्ड नेतृत्वबिहिन



काठमाडौं । व्यवसायिक घरानाको लोभी नजरले नेपालको पुँजी बजार नराम्रोसँग ‘कर्पोरेट वार’को शिकारमा परेको छ । साढे ४ महिनादेखि रिक्त रहेको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड अझै १५ दिन नेतृत्वबिहिन हुने भएको छ । बोर्ड नेतृत्वबिहिन हुँदा ३१ खर्ब रुपैयाँभन्दा बढीको नेपालको पुँजी बजार नराम्रोसँग प्रभावित भएको छ ।

बोर्डले अध्यक्ष पाउने प्रकृयाको अन्तिम चरणमा पुगेपछि अर्थमन्त्री बर्षमान पुनको निजी स्वार्थका कारण बाँकी प्रक्रिया रोकिँदा जेठ १५ अघि बोर्डले अध्यक्ष पाउने सम्भावना छैन

बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहेका छन् भने अर्थ सचिव सदस्य रहेका छन् । दुबै जना अहिले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रकृयामा रहेका छन् ।

आगामी आवको बजेटभन्दा धितोपत्र बोर्डको अध्यक्ष ‘ठूलै परिवर्तन’ नभएको खण्डमा जेठ १५ अघि नपाउने देखिएको छ । अर्थमन्त्रीले चासो नदेखाएको कारण करिब ५ महिनादेखि रोकिएको बोर्ड अध्यक्ष नियुक्ती प्रकृया र बजेट निर्माणमा मन्त्री, योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव एकै ठाँउमा बढी समय दिनुपर्ने भएका कारण समय लाग्ने देखिएको हो ।

बोर्डमा राजनीतिक दलका नेतादेखि ठूला व्यापारिक घरानासम्मको नजर लागेको छ । दोस्रो स्टक एक्सचेञ्जदेखि प्रिमियममा आईपीओ निष्काशनसम्मको चेपुवामा बोर्ड परेको छ ।

पछिल्लो समय धितोपत्र बोर्डमा जान पाए आफ्ना र आफ्ना निकट कम्पनीलाई धितोपत्र बजारमा सूचीकरण गर्ने र साधारण (आईपीओ)को नाममा पुँजी संकलन गर्न पाइन्छ भनेर धेरैको ध्यान जान थालेको छ । अहिले प्रिमियम, बुक बिल्डिङको नाममा सेयर निष्कासन गर्ने र बजारबाट सहजै पैसा संकलन गर्न सकिन्छ, थोरै मेहनतमा धेरै सम्पत्ति आर्जन गर्न सकिने भएर ठूला घरानाको स्वार्थ देखिएको छ । राजनीतिक स्वार्थ र ठूला घरानाको दबाब नपरेको खण्डमा मन्त्री पुनले जेठ १५ अघि बोर्डलाई नेतृत्व दिने सम्भावना नरहेको अर्थ मन्त्रालय निकट स्रोतको भनाइ छ ।

अध्यक्ष छनोट समितिले ५ जनाको नाम तयार पारेपछि मन्त्री पुनको ठाडो निर्देशनमा चैत मसान्तमा रोकिएको छ । बोर्डको अध्यक्षका लागि आवेदन दिएका १९ जनाबाट ५ जनाको नाम तयार भएको थियो । जसमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं, धितोपत्र बोर्डको पहिलो श्रेणीका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठले स्वाभिमान लघुवित्त वित्तीय संस्थाबाट माघ ७ गते राजीनामा दिएका छन् ।

स्वाभिमान लघुवित्तमा श्रेष्ठको ५३ लाख १५ हजार ३०० रुपैयाँको ५३ हजार १५३ कित्ता अर्थात ४.३६ प्रतिशत संस्थापक सेयर छ । यस्तै प्राइम बैंकमा श्रेष्ठको ९ करोड ७३ लाख २२ हजार रुपैयाँको ९ लाख ७३ हजार २२० रुपैयाँको सेयर रहेको छ । उनी स्वाभिमान लघुवित्त र प्राइम बैंकका ठूला सेयरधनी हुन् ।

अध्यक्ष छनोट समितिले ५ जनाको नाम तयार पारेर उनीहरुलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, मन्त्रीको निर्देशनमा पाँचै जनाको अन्तर्वार्ता रोकिएको छ । मन्त्री पुन बैशाख २ गते अमेरिका गएका थिए । उनले चैतको अन्तिममा सबै प्रकृया रोकेका हुन् ।

धितोपत्र बोर्डमा अध्यक्ष पुन अर्थ मन्त्रालयमा आउनुभन्दा पहिला नै खाली थियो । मन्त्रालयमा आएपछि उनले धितोपत्र बोर्डको अध्यक्षमा चासो नदेखाउने तर्क गर्दै आएका थिए । तर, बोर्डका अध्यक्ष नियुक्त गर्दा मोटो रकम चलखेल हुने गन्ध पाएपछि मन्त्री पुनले आर्थिक लाभका आधारमा अध्यक्ष नियुक्त गर्न नहुने भन्दै रोकेको मन्त्री निकट स्रोतको दाबी छ ।

तर, मन्त्री पुनको अक्षमताले ५ सयभन्दा बढी सूचीकृत कम्पनी तथा संस्थाको नियमन गर्ने बोर्ड नेतृत्वबिहिन बनेको हो । बोर्ड नेतृत्वबिहिन हुँदा साधारण सेयर (आईपीओ), हकप्रद सेयर निष्कासन रोकिएको छ ।

बोर्डमा रमेश कुमार हमाल पुस २२ गते धितोपत्र बोर्डमा २२ महिने कार्यकाल पुरा गरेर बाहिरिएका छन् । उनको कार्यकालमा नयाँ स्टकले लाइेन्स पाउने विषय निकै चर्चामा रह्यो ।

नयाँ स्टकलाई लाईसेन्स दिने योजना सहित बोर्डमा पुगेका हमालको योजना भने पुरा हुन सकेन । नयाँ स्टक एक्सचेन्जका लागि तीन वटा घरानाले आवेदन दिएका छन् । नयाँ स्टकका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।

धितोपत्र बोर्डले एउटा कम्पनीलाई स्टक एक्सचेन्जका लागि अनुमति दिनेछ । तीनवटै शक्तिशाली घराना भएकाले कसले अनुमति फुत्काउँछ यसै भन्न सकिने स्थिति छैन । हिमालयनमा दीपक भट्ट, शंकर ग्रुप, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, भवानी राणा, निवर्तमान अध्यक्ष शेखर गोल्छा, राजेन्द्र खेतान, सौरभ ज्योतिलगायतको लगानी छ ।

नेसनल स्टकमा सिद्धार्थ ग्रुप, दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, अग्नि ग्रुपलगायतको मुख्य लगानी छ । नेसनलमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, हालका अध्यक्षद्वय बद्री केसी र कुल आचार्यको लगानी छ ।

नेसनल स्टकको प्रस्तावित सञ्चालकमा दीपक तिमिल्सिना, महेशकुमार श्रेष्ठ, ऋषि अग्रवाल, अंकित केडिया र स्वतन्त्र सञ्चालकमा रामजी रेग्मी छन् । अन्नपूर्ण स्टक एक्सचेन्जमा सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, शेखर सुवेदीलगायतको लगानी रहेको छ ।

यता सरकारले नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीलाई संयोज बनाएर अध्ययन गरेको थियो । उक्त अध्ययन कमिटीले पनि शर्तसहित नयाँ स्टकलाई लाइसेन्स दिन बान्छनिय हुने ठहर गर्दै सरकारलाई प्रतिवेदन बुझाइ सकेको छ ।


सोभित थपलिया