आईसीपी र आईसीडीको संरचनागत सुधारको माग
काठमाडौं। बारा–पर्सा औद्योगिक करिडरका उद्योगी व्यापारीले देशको मुख्य नाका वीरगन्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) को पूर्वाधार सुधारको माग गरेका छन् ।
स्थानीय उद्यमीको संस्था वीरगन्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर यस्तो माग गरेको हो ।
अनधिकृत व्यापार नियन्त्रणका लागि आईसीपी र आईसीडीमा स्क्यानर मेसिनको व्यवस्था मिलाउन आग्रह गरिएको संघका अध्यक्ष अनिलकुमार अग्रवालले बताए ।
यो उपकरणको अभावमा मुख्य नाकाबाटै अनधिकृत आयात र एउटा घोषणा गरेर अर्कै वस्तु भित्र्याउने घटना बढेको छ । केही समयअघि आईसीडीमा हरियो लेनमा पास हुने बस्तु भनेर रातो लेनमा जाँचपास हुने र प्रतिबन्धित मालसामान भित्रिएको खुलासा भएको थियो ।
दुवै भन्सारमा एकै समयमा बिहान ९ बजेदेखि काम हुनुपर्ने र आईसीपी भएर बाहिरिने खाली ट्रक, कन्टेनरहरु बिहान ५–६ बजेदेखि नै जाने व्यवस्था गर्न माग गरिएको संघका उपाध्यक्ष माधव राजपालले बताए ।
‘यसो गर्न सकिएमा बाहिरिने पर्खाइमा रहेका ट्रक, कन्टेनरका कारण बाटो जाम हुने समस्या समधान हुन्छ । यसबाट व्यापार पनि सहजीकरण हुने भएकोले यस्तो व्यवस्था अतिआवश्यक भइसकेको छ,’ उपाध्यक्ष राजपालले भने ।
आईसीपी भएर हलुका चार चक्के सवारी साधनलाई आवतजावत गर्न दिइएमा आउजाउमा सहज हुने भएकोले त्यसको अनुमतिका लागि पनि आग्रह गरिएको छ ।
आईसीपीमा कोल्ड स्टोरेजको अभावमा तुरुन्त कुहिएर जाने वस्तुको आयात हुन नसकिरहेको र आयात गर्न चाहे पनि कुहिन गइरहेकोले कोल्ड स्टोरेजको व्यवस्था हुनुपर्ने आयातकर्ताले बताएका छन् । छिटोछरितो कामका लागि आईसीपीमा कार्यरत कर्मचारीलाई आईसीपी परिसर वा नजिकै आवासको व्यवस्थाको पनि माग गरेका छन् ।
आईसीपी र आईसीडीबीचमा रहेको ६२ बिघा जग्गा अधिग्रहणको प्रक्रिया चाँडो टुंगोमा पु¥याएर क्षेत्रफल विस्तार गर्न भनिएको छ । आईसीडी हुँदै पर्याप्त मात्रामा डस्टी कार्गो भित्रिए पनि उचित भण्डारणको अभावले समस्या भएको उद्यमीको भनाइ छ ।
कन्टेनर, बोराबन्द र डष्टी कार्गोका लागि बेग्लाबेग्लै तौल उपकरण व्यवस्था मिलाउन आग्रह गरिएको छ । त्यहाँ कुहिन लागेको रासायनिक मललाई यथाशीघ्र व्यवस्थापन गर्न उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् । चौबिसै घण्टा उपलब्ध हुने गरी एम्बुलेन्स र केमिकलयुक्त दमकलको व्यवस्थापनको माग पनि निजीक्षेत्रले गरेको छ ।