सहकारी ठगी प्रमाणित भए रविले राजनीति छाड्ने, गगनले के गर्लान् ?



काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापा व्यक्तिगत टिका टिप्पणीमा उत्रिएका छन् ।

शुक्रबारबाट सुरु भएको प्रतिनिधि सभाको बजेट अधिवेशनमा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिनको माग गरेको कांग्रेसले बैठकमा नाराबाजी गरेपछि स्थगित भएको थियो । सभामुखले दोस्रो बैठक राखेका थिए र रविलाई बोल्न समय दिएका थिए तर कांग्रेसकले उनलाई घेरेर नाराबाजी गरेपछि बोल्न पाएनन् ।

बैठक स्थगित भएपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूले निवेदन दिएर ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न तयार हो कि होइन भनी थापालाई प्रश्न गरेका थिए ।

‘आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन ?’ लामिछानेले प्रश्न गरेका थिए ।

लामिछानेपछि पत्रकारको प्रश्नको सामना गरेका कांग्रेस महामन्त्री थापाले गृहमन्त्री रवि लामिछानेमाथि लगाएको आरोप पुष्टि नभए आफू राजनीति छाड्न तयार भएको प्रतिक्रिया दिए ।

लामिछानेको प्रश्नको जवाफ दिँदै थापाले भने, ‘पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ । गृहमन्त्रीले ऋण लिएको पुष्टि भएन भने उहाँले राजनीति छोडे हुन्छ । कहिले महान्यायाधीवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन । संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ । त्यहीँबाट पुष्टि गरे भइहाल्छ ।’

थापाले आफूहरुले माग गरेको समितिले सहकारीका सम्बन्धमा आएको समस्या समाधानको बाटो देखाउने दाबी गरे ।

त्यसअघि थापाले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गरका थिए ।


क्लिकमान्डु