ढिकीजाँतो तपाईँकै हातमा छ, छानबिनबाट हामीलाई गलत सावित गरिदिनुस् !



गृहमन्त्रीले सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँबाट आफैं लिखित माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौं ? एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेस गरौं ? कति प्रमाण पेस गरौं ? मैले पेस गर्ने यी प्रमाणहरु गलत हुन् भनी संसदीय छानबिन समितिबाट सावित गरिदिए आहा !

सम्माननीय सभामुख महोदय !

आज सदनको बैठक प्रारम्भ भएको दिन । सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको तर्फबाट यसरी उभिएर मागेर बोल्नुपर्ला भन्ने मलाई पटक्कै पनि लागेको थिएन । यसरी बोल्ने चाहना पनि थिएन । आज म यहाँ उभिएर पार्टीको तर्फबाट डढेलो नियन्त्रणको विषयमा बोल्न चाहन्थेँ । सरकारको हेलिकोप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोध्न चाहन्थेँ । बाढीपहिरो नियन्त्रणबारे सरकारको तयारीबारे सोध्न चाहन्थेँ । दलहरु उथलपुथल गरेर तोडफोड गर्ने कामहरु कति बाँकी छ भनेर सोध्न चाहन्थेँ ।

मलाई थाहा छ, मलाई जस्तै यहाँ थुप्रै माननीयहरुलाई पनि सोध्ने मन छ । किनकि हामी ती कु्राहरु सोध्न र प्रश्नको उत्तर खोज्न यहाँ आएका हौं । तर यो सदनमा प्रश्नहरुको घाँटी निमोठ्ने काम भइरहेको अनुभूति भइरहेको छ ।

माननीय गृहमन्त्रीज्यू रवि लामिछानेले केही पहिला सदनको पछाडि भर्‍याङनेर उभिएर भन्नुभएको थियो, ‘संसद्‍ चार वर्ष बन्द भए पनि हुन्छ । बन्द भए होस् । मज्जाले चलाउने हो ।’ भर्खरै भर्खरै आएनुभएको धेरै कुरा थाहा भएन कि भन्ने लागेको थियो । सम्माननीय प्रधानमन्त्रीज्यू त यत्रो पटक प्रधानमन्त्री बन्नुभयो । पटकपटक सदनमा आउनुभएको छ । सदन कसरी चल्छ कसरी चलाउनुपर्छ पक्कै पनि बुझ्नुभएकै होला भन्ने लागेको थियो । तर हिसावकिताब बिग्रिने डर त सबैतिर हुने नै भयो ।

त्यसैले आज सदनमा जे दृश्य बन्न जाँदैछ । यसको कारण हामी हैनौं र कारक पनि हामी हैनौं । म सभामुख महोदयलाई विनित भएर आग्रह गर्दैछु, जे गर्ने सोच राखिएको छ त्यसको धरै ठूलो मूल्य चुकाउनुपर्ने छ । यसलाई हल्का नठानियोस् । नेपाली कांग्रेस सदन चल्नुपर्छ भन्नेमा गम्भीर छ। यसभन्दा अघि हामी आफ्ना कुरा राख्दै गर्दा विधेयकहरु पारित होस् । लगानी सम्मेलनभन्दा अगाडि सरकारलाई काम गर्न सजिलो होस् भनेर धेरै कुरामा गम्भीर भयौं । निजामति ऐन लगायत कतिपय कराहरु सदनमा जाओस् भनेर हामी गम्भीर भयौं । हाम्रो जम्मा एउटा कुरा थियो । अहिले पनि त्यही कुरा छ ।

सहकारीको ठगीका सम्बन्धमा यो सदनले छानबिन समिति बनाओस् । यो समिति बनाउँदै गर्दा त्यसमा त एमाले बस्ने होला । माओवादी बस्ने होला । रास्वपा बस्ने होला । सबै बस्ने होला । ढिकीजाँतो तपाइँहरुकै हातमा छ । तथ्य हामीले बनाउने हैन होला। मलाई पनि कसैले आरोप लगाउनुभएको छ । समिति बनाएर छानबिन गरिदिए त आहा कति आनन्द हुन्थ्यो । सबैले थाहा पाउँथे । किन डराएको, किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ । कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । हुँदा हुँदा महान्यायाधिवक्ता त झुक्दा झुक्दा लम्पसार नै परिसक्नुभयो । किन आत्तिएको ? के ल्याउने हो र ? के बनाउने हो र ? यदि गल्ती गरेको छैन भने ।

(सभामुख देवराज घिमिरेबाट पूर्वनिर्धारित ३ मिनेटको समय सकिएर २ मिनेट थपिदिएपछि)

सभामुख महोदय !
मलई समय नदिए पनि केही छैन । मलाई निगाहाको समय चाहिँदैन । मलाई हकको समय चाहिन्छ । यहाँ उभिएर बोल्ने मेरो पनि हक छ । आज सभामुख महोदयलाई बुझाउनुपर्ने मसँग कम्तीमा पनि १५ वटा पत्र छन् । पत्र लेख्न मलाई पनि आउँछ । पत्र बुझाउन हामीलाई पनि आउँछ । यहाँ गृहमन्त्रीमाथि कुनै पनि अभियोजन भएको छैन, प्रमाण छैन भनेर सम्माननीय प्रधानमन्त्रीले त्यहाँ उभिएर बोल्नुभएको छ । झुट बोल्ने ? महान्यायाधिवक्ताको कार्यालयको दुरुपयोग गर्ने ?

त्यही प्रहरी कार्यालय रुपन्देहीले गरेको अनुसन्धान । अदालतमा भएका प्रमाणहरु पेस गरौं ? गृहमन्त्रीले सहकारीबाट ऋण लिएको छैन भनिएको ठाउँमा सहकारीबाट आफैं लिखित माग फारम भरेर ऋण लिएको प्रमाण पेस गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेको प्रमाण पेस गरौँ ? कति प्रमाण पेस गरौँ ? मैले पेस गर्ने यी प्रमाणहरु गलत हुन् भनी संसदीय छानबिन समितिबाट सावित गरिदिए आहा ! कति मजा आउँथ्यो होला !गलत सावित गरिदिनुस् न मलाई । गलत सावित गरिदिनुस् न नेपाली कांग्रेसलाई । यही भनिराखेको हैन र हामीले ?

सम्माननीय सभामुख महोदय !
यो संसदभित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतासाथ यो विषय उठाइसकेपछि । संसदीय छानबिन समिति बनाऊँ । अरु केही चाहिँदैन । सरकार तपाइँहरु नै चलाउनुस् । मज्जाले चलाउनुस् । चार वर्ष नै चलाउनुस् । केही हुन्न । नडराउनुस् । तोडफोड हुँदैन । तपाइँहरु चलाउनुस् । हामी हेर्छौं । समिति बनाउनुस् । हामीलाई गलत सावित गरिदिनुस् । अनि प्रक्रिया अगाडि बढ्छ । यति भन्दा हामीलाई हेपन खोज्ने ? पेल्न खोज्ने ?

सभामुख महोदयले अहिले यहाँ संख्याका आधारमा हेपेर, पेलेर सरकारका कामहरु अगाडि बढाउँछु भन्ने ठान्नुभएको हो ? सदन मात्रै छ र ? संसदीय छानबिन समिति नबनाएसम्म अब सदनको कुनै पनि काम कारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी हैन । यो सदन अगाडि नबढ्ने कुराको जिम्मेवार कांग्रेस हैन । जबसम्म छानबिन समिति बन्दैन तबसम्म सदनको काम अगाढि बढ्दैन ।

(शुक्रबार संसद्‍मा कांग्रेसका सांसद गगन थापाको मन्तव्य । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले थापाको मन्तव्य सकिएपछि सदन अवरुद्ध गरेको हो ।)


क्लिकमान्डु