रुखको हाँगा काटेर खसीलाई खुवाएको भन्दै ललितपुरमा मासु पसलेलाई ५ हजार जरिवाना

224
Shares

ललितपुर । ललितपुर महानगरपालिकाले भैंसेपाटीको एक मासु पसलेलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरले सडक छेउमा रोपेको रुखको हाँगा काटेबापत मासु पसले लालबहादुर लामालाई पाँच हजार जरिवाना तिराएको हो ।

महानगर प्रहरी गस्तीमा रहेको अवस्थामा रुखको हागा काटेर खसीलाई खुवाएको देखेपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।

‘रुखको हागा काटेर जरिवाना तिराएको सायद नेपालमै पहिलो होला,’ उनले भने, ‘ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरु ठाउँमा पनि काट्न नदिन सचेत मात्र गराएका हौं।’

महानगरले केही समयअघि मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ ।