एक सयको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिको जवाफ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णयमा राष्ट्रपतिका सल्लाहकारले सरकारको निर्णयबिरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रश्न गरे ।

यस विषयमा राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने उनको माग छ ।

संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई उनले निर्देशन दिए ।

अध्यक्ष ओलीले राष्ट्रपतिका सल्लाहकार नेपालले राष्ट्रिय हित विपरित बोलेको भन्दै राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै आपत्ति जनाए ।

हरेक नेपालको नोटमा र हरेक सिक्कामा अनिवार्य नेपालको नक्सा राख्नुपर्ने उनको भनाइ छ ।

नेपालको अहित चिताउने, राष्ट्रिय भावनामा न्यूनता वा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाएर बस्न नमिल्ने उनको भनाइ छ ।

नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने कुरालाई कुनै पनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको उनले बताए ।

‘नेपाल सरकारले नेपालको नोटमा नेपालको नक्सा छाप्छ भन्दा अर्को देश कराएको सुनियो । किन करायो अर्को देश ? नेपालले नेपालले नेपालको नोटमा नेपालको नक्सा छाप्छ, उसको नक्सा छाप्ने होइन । किन करायो होला अर्को देश भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरु त्यो अर्को देश कराएको सँगसँगै यो फलनो देशलाई उत्तेजित पार्न खोजिएको हो, नक्सा छाप्ने कुरा आदि इत्यादि भनेर । कस्ता मान्छे सम्माननीय राष्ट्रपतिज्युले कस्ता मान्छे त्यहाँ जागिर खुवाएर राख्नुभएको छ ?’ उनले भने ।


क्लिकमान्डु