सन्दीपको बलात्कार प्रकरणसँग जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति



काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालबाट खड्काले आफूमाथि केही समय यता आधारहीन तरिकाले आरोप लगाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘पछिल्लो केहि समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

लामिछानेसँग जोडिएको मुद्दामा जिल्ला अदालतबाट पहिलो तहको फैसला एको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने भन्दै खड्काले आफूलाई अनावश्यक रुपमा जोडिएको भन्दै आफूमाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने जनाएका छन् ।

‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ’,खड्काले भनेका छन्,‘यो सबैका बिच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।’

उनले नेपाली क्रिकेटको विकास र विस्तारप्रतिको आफ्नो अठोटमा कदापि पनि परिवर्तन नआउने पनि स्पष्ट पारेका छन् ।

बलात्कारसम्बन्धी मुद्दामा पुनराबेदन गरिरहेका लामिछानेले टी-२० कप क्रिकेट गुमाएका छन् । अदालतमा मुद्दाको चाँडो निरुपण हुन नसक्दा लामिछानेका समर्थक रिसाएका छन् भने कतिपयले यस प्रकरणमा खड्का लगायतको भूमिका माथि प्रश्न उठाउँदै आएका छन् ।


क्लिकमान्डु