गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग कायम राखेको छ ।

मंगलवार सभामुख देवराज घिमिरे र दलका शीर्ष नेताहरुबीचको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् । उनले बैठकमा संघीय संसदको आगामी अधिवेशनका बारेमा छलफल भएको र नेपाली कांग्रेसले संसदीय छानबिन समितिको मागलाई यथावत राखेको बताए ।

उनले सरकार संघीय संसदको आगामी अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा वचतकर्ताहरुले वचत गरेको रकम फिर्ता गर्नका लागि गम्भीर भएर लाग्नेमा आशावादी रहेको बताए । उनले सहकारीको रकम हिनामिनामा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको तर सहकारी पीडितहरुको विषयलाई गम्भीरतापूर्वक नलिएको र समस्या सम्बोधन नगरेको बताए ।

प्रमुख सचेतक लेखकले भने, ‘संघीय संसदको आगामी अधिवेशनका बारेमा छलफल भयो । हामीले संसदीय छानबिन समितिको जुन माग गरेका थियौँ । हामीले त्यही कुरा राखेका छौं । हामीले के विश्वास लिएका छौं भने सरकार संघीय संसदको आगामी अधिवेशनमा प्रस्तुत हुँदा सहकारीमा लाखौँ वचतकर्ताहरुले अर्बौं रुपैयाँ वचत गरे । त्यसको हिनामिना र अपचलन भयो । त्यसलाई छानबिन गर्न जरुरी छ । त्यसका बारेमा सरकारका स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरा चारैतर्फबाट देखिएको अवस्था छ । हामीले शंकाको सुविधा दिएका छौँ । राजीनामा र मुद्दा अहिले हुनुपर्छ भनेका छैनौँ । कुरा उठिसकेपछि संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्छ भनेका छौँ ।’

तर सरकारले सहकारी पीडितहरुको विषयलाई गम्भीरतापूर्वक नलिएको उनको जिकिर थियो । साथै उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुको विकल्प नरहेको बताए ।


क्लिकमान्डु