हवाई श्रमिकद्वारा आन्दोलन गर्ने चेतावनी



काठमाडौं । हवाई क्षेत्रसँग सम्बद्ध श्रमिकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सले श्रम शोषण गरेको भन्दै श्रमिकहरुले आन्दोलनको चेतावनी दिएका हुन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युनिट्राभले आयोजना गरेको क्षमता अभिवृद्धि तालिमसँगै पत्रकार सम्मेलनमा कर्मचारीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

त्यसैगरी एयर इन्डिया टाटाले गरेको शोषण विरुद्ध पनि आन्दोलनमा उत्रने श्रमिकले बताएका छन् । यस्ता संस्थाहरुले श्रमिक र कर्मचारीबीच तलब, भत्तादेखि सबै प्रकारका सेवा, सुबिधामा विभेद गरेको उनीहरुको आरोप छ ।

यस्तै कार्यथलोमा मर्यादित ज्यालाको साथै सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य सुरक्षा नभएको उनीहरुले बताएका छन् । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले श्रमिकहरुले मे दिवसजस्तो श्रमिकको चाड, महिला दिवसदेखि सिपमुलक कार्यक्रममा सहभागी हुन जाँदा उल्टै तलब, भत्ता काट्ने र श्रमिकलाई शोषण गर्ने कार्य भइरहेको भन्दै यसप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

युनिट्राभका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणमा दुई फरक तरिकाबाट श्रमिक राखिएको र त्यसमध्ये आउट सोर्सिङ कम्पनीबाट रोजगारीमा राखिएका श्रमिकलाई कानुनअनुसार पाउनुपर्ने बिदा सुबिधा नदिने, ४ वर्षदेखि वृद्धि भएको तलब, भत्ता नदिने, कानुनले दिएको अन्य सेवा, सुबिधा पनि नदिने अवस्था भेटिएको छ ।

श्रमिकको परिवारमा कसैको निधन भएर बस्नुपरेको बिदासमेत श्रमिकले नपाउने भन्दै श्रमिकहरुले सुत्केरी स्याहार बिदा बस्दा पनि बिदा नदिई तलब काट्ने गरेको गुनासो गरेका छन् ।

‘सुत्केरी स्याहारका लागि ३ दिन बिदा बस्दा ५ दिनको तलब काट्ने, ५ दिन बिदा बस्दा आठ दिनको तलब काट्ने जस्ता प्रवृति पाइएको छ । यस्ता विषयमा मुख्य रोजगारदाता नेपाल नागरिक उड्डयन प्राधिकरणसँग श्रमिकका समस्याबारे कुरा राख्दा आउट सोर्सिङ कम्पनीलाई राखेर समस्या समाधान गर्नुको साटो उल्टै ठेकेदारको पहरेदारको रुपमा कार्य गरी श्रमिकलाई हप्काउने पाइएको छ,’ यूनिट्राभका अध्यक्ष पराजुलीले भने, ‘श्रमिकको पारिश्रमिक कटौति गरेर नागरिक उड्डयन प्राधिकरणका केही कर्मचारीहरु रकमको चलखेल गरी फाइल मिलाएर श्रम ऐन र श्रमिकले पाउनुपर्ने सेवा, सुबिधामा कुठाराघात गरिरहेका छन् ।’

यूनिट्राभले यस्ता गलत कार्यको घोर विरोध गर्दै गलत क्रियाकलापको विरुद्धमा उत्रने चेतावनी दिएको हो । यूनिट्राभका अनुसार नेपाल वायु सेवा निगममा पनि चरम श्रम शोषण भएको पाइएको छ ।

‘निगम अन्तरगत नेपाल वायु सेवा निगमबाटै पारिश्रमिक लिने ट्रान्सपोर्ट ग्राउन्ड ह्यान्डलिङदेखि कार्यालयमा ६ वर्षदेखि २८ वर्षसम्म कन्ट्रयाक्ट, क्याजुअल, ज्यालादारी, करारमा कार्यरत करिब ६०० जना श्रमिकको उपदान, संचयकोष, अरु कर्मचारी सरहको सेवा, सुबिधा दिइएको छैन,’ यूनिट्राभको विज्ञप्तिमा उल्लेख छ, ‘कति श्रमिकको जागिरको क्रममा निधन भइसकेपनि ती निधन भएका परिवारका सदस्यले आफ्ना निधन भएका व्यक्तिको संचयकोष, उपदानबापतको केही नपाउने र व्यवस्थापनले थाहा नपाएको भन्दै श्रमिकमाथि शोषण गरिरहेको छ ।’

एयरलाइन्समा भएको विभेद र शोषण अन्त्य गर्न माग गर्दै श्रमिकहरुले आफूहरुले सामाजिक सुरक्षा अन्तरगत पाउनुपर्ने मौलिक हकभित्र रहेका सबै सेवा, सुबिधा उपलब्ध गराउन र श्रमिकलाई बाँच्न पुग्ने हिसाबले तलब, भता उपलब्ध गराउन माग गरेका छन् ।

‘नेपाल एयरलाइन्सभित्र आउट सोर्सिङ कम्पनीद्वारा पनि व्यापक श्रम शोषण भइरहेको छ । निगमले ४०० जना जति विभिन्न आउटसोर्सिङ कम्पनिबाट श्रमिक आपूर्ति गराएर काम लगाएको छ । ती श्रमिकलाई ४ वर्षदेखि तलव र कुनै प्रकारको सेवा, सुबिधा बढाउने काम भएको छैन । तलव वृद्धिको बारम्बार माग गर्दा पनि सुनुवाइ भएको छैन,’ यूनिट्राभका अध्यक्ष पराजुलीले भने, ‘श्रमिकका बारेमा कुरा गर्दा आउट सोर्सिङ कम्पनीले मुख्य रोजगारदाता नेपाल एयरलाइन्सलाई देखाउने, मागपत्र राख्न जाने श्रमिकलाई गर्दै नगरेको गल्ती देखाएर पास खोसिदिने कार्य नेपाल एयरलाइन्सका केही माथिल्लो तहका कर्मचारीबाट हुँदै आएको छ ।’

नेपाल एयरलाइन्समा तलव, सेवा, सुबिधा, बिदादेखि सामाजिक सुरक्षाको बारेमा श्रमिकले भनाइ राख्दा प्रतिसोधको भावना राखेर रोजगारीबाट हटाउनेसम्मको धम्की दिने कार्य भइरहेको श्रमिकहरुको गुनासो छ ।

यूनिट्राभले नेपालमा ४ दशकदेखि इन्डियन एयरलाइन्स त्यसलगत्तै एयर इन्डिया र हाल नाम परिवर्तन गरेर एयर इन्डिया टाटाको नामबाट उडान भरिरहेको एयर इन्डिया टाटाले पनि व्यापक श्रम शोषण गरिरहेको जनाएको छ । स्थायी कर्मचारी हटाउँदै करार गरेर राख्ने, करार गरेकाहरुलाई सामाजिक सुरक्षा अन्तरगतको उपदान, संचयकोषदेखि बीमा पनि नगरी केही नदिएको र कर्मचारीबीच विभेद गरेको यूनिट्राभले आरोप लगाएको छ ।

माथिल्लो तहमा कार्यरत कर्मचारीले ब्यवस्थापकलाई राइट ह्यान्डको रुपमा सहजता पुर्याउन यलो युनियन बनाएर आफू अनुकुल प्रमोशन, ज्याला वृद्धि गर्ने गरेको यूनिट्राभले जनाएको छ । एयर इन्डिया टाटामा श्रम ऐन नियम विपरित श्रम सम्झौता गरेर काममा लगाएको र यो तत्काल अन्त्य हुनुपर्ने यूनिट्राभले माग गरेको छ ।

हवाई क्षेत्रमा रहेको समस्या तत्काल सम्बोधन नगराइए त्यसको प्रतिरोधमा उत्रने यूनिट्राभको चेतावनी दिएको छ ।


क्लिकमान्डु