एमाले नेता, कार्यकर्तालाई वामदेवको अनुरोधः छिटोभन्दा छिटो एमालेमा ल्याउन ओलीलाई दबाब दिनुस्
काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताएका छन् ।
गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।
सोमबार राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासलमा पुगेका उनले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गरे । गौतमले आफू अध्यक्ष ओलीको आलोचना गर्न, खुट्टा तान्न नभई सो पार्टीलाई २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको कुरा अध्यक्ष ओलीलाई भनिसकेको पनि स्मरण गरे ।
त्यसका लागि आफूलाई एमालेले सो अभियानको कमाण्डर बनाउनुपर्ने उनको प्रस्ताव थियो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका गौतमले आफू एउटा शक्ति भएको उल्लेख गर्दै त्यसलाई एमालेले प्रयोग गर्दा हुने बताए ।
गौतमले आफूले एमालेमा आएर काम गर्न चाहेको पनि पटकपटक दोहोर्याए ।