मलेसियाली गृहमन्त्रीसँग रवि लामिछानेको टेलिफोनमा कुराकानी, जीबी राई पक्राउ पर्लान् ?



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग टेलिफोन संवाद गरेका छन् ।

लामिछानेको सचिवालयका अनुसार सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग गरिदिन उनले मलेसियाली गृहमन्त्री इस्लामसँग आग्रह गरेका हुन् ।

केही दिनअघि मलेसियाली गृहमन्त्री इस्माइलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालका गृहमहन्त्री रवि लामिछानेसँग आफ्नो कुराकानी भएको जनाएका छन् । तर उनले जीबी राईका बारेमा भने केही उल्लेख गरेका छैनन् ।

‘नेपालका मेरो साथी, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग फोनमा कुरा गरें । मैले गृहमन्त्रीको सपथ लिएपछि यो हाम्रो पहिलो अन्तरक्रिया हो,’ मलेसियाली गृहमन्त्री इस्माइलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको सिमानाको सुरक्षा र सार्वजनिक व्यवस्थाको विषय हाम्रो छलफलको मुख्य विषय हो । राष्ट्रिय सुरक्षा हित संरक्षणमा कुनै सम्झौता नहुने सहमति भएको छ । त्यस्तै, हामी आप्रवासी कामदारहरूका साथै सीमापार अपराध रोकथामलगायत अन्य धेरै विषयमा सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध रहेका छौं ।’

जीबी राई मलेसियामा लुकेको र कानुनी समस्याका कारण उनलाई ल्याउन नसकिएको प्रहरी प्रमुख बसन्त कुँवरले संसदीय समितिमा बताएका थिए ।

ग्यालेक्सी टेलिभिजनका सञ्चालकसमेत रहेका राई सूर्यदर्शन लगायत सहकारी ठगी प्रकरणका प्रमुख आरोपी हुन् । गृहमन्त्री लामिछाने पनि उक्त सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।


क्लिकमान्डु