घरजग्गा कारोबारलाई पारदर्शी बनाउन चुनौतीपूर्ण: भूमि मन्त्री अधिकारी



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारलाई पारदर्शी बनाउन निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास संघ, शहरी विकास मन्त्रालय र भूमी मन्त्रालयले आयोजना गरेको नेपाल रियल इस्टेट सम्मेलनमा बोल्दै मन्त्रीले घरजग्गा कारोबारलाई पारदर्शी बनाउन निकै चुनौतीपूर्ण रहेको बताएका हुन् ।

अहिले नेपालमा अनौपचारिक क्षेत्रमार्फत् बढी घरजग्गा कारोबार हुँदा करको दायरामा आउन नसकेको उनको भनाइ छ । खरिदकर्ता र बिक्रीकर्ताबीच सिधै कारोबार हुँदा सरकारले ठूलो राजस्व गुमाउँदै आएको उनले बताए । घरजग्गा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको मन्त्रीले बताए ।

‘सरकारले जग्गा खण्डीकरण कम गर्नका लागि भूउपयोग निमावली जारी गरेको थियो । जसले गर्दा कारोबार ठप्प भई अर्थतन्त्र शिथल बनेको थियो,’ उनले भने, ‘सरकारले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नियमावली संशोधन गरी सहज बनाएको छ ।’

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउनका लागि भूमी सम्बन्धी ऐन र मालपोत ऐन संशोधन गरेको छ । उक्त ऐन कार्यान्वयन भएमा कारोबार मर्यादित हुने अपेक्षा गरेको मन्त्रीले बताए ।

हाल घरजग्गा कारोबारलाई व्यस्थित गर्न छुट्टै नीति र कानून बनिनसके पनि आगामी दिनमा विस्तारै सरकारले नीति तथा कानूनमा जोड दिई सकारात्मक राजस्व संकलन गर्ने वातावरण सिर्जना हुने जिकिर गरे ।

महासंघका अध्यक्ष भेषराज लोहनीले वार्षिक ५ लाख घरजग्गा किनबेच हुने र १२ खर्बदेखि १५ खर्ब रूपैयाँसम्म कारोबार हुने क्षेत्र पार्दर्शी, मर्यादित र व्यवस्थित बनाउन नसकेको बताउँछन् ।

व्यवसायीहरूले सेयर मार्केट जस्तै पारदर्शी बनाउन घरजग्गा क्षेत्रमा पनि ल्यान्ड मार्केट ल्याउन जोड दिएका छन् । तर सरकारबाट कार्य अगाडि बढ्न नसकेको उनले गुनासो गरे ।

त्यसैगरी नेपालको घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन स-साना आयोजनालाई निरूत्साहित गरी ठूलो आयोजनामा जोड दिनुपर्ने उनले जिकिर गरे ।

‘सरकारले घरजग्गा व्यवस्थित बनाउन ल्यान्डपुलिङको काम निजी क्षेत्रलाई दिनुपर्छ,’ उनले भने । त्यसैगरी घरजग्गा कारोबार ठप्प हुँदा अर्थतन्त्रमा नै समस्या आएकाले यस क्षेत्रलाई सहज नीति अपनाइ सहजीकरण गर्नुपर्ने उनले बताए।


क्लिकमान्डु