राप्रपाको रवि लक्षित निर्णय: सहकारी ठगीमा संलग्न आफ्नो सांसदसहित मन्त्रीहरुमाथि छानबिन गर्न माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहकारीबाट करोडौं रुपैयाँ अपचलनमा मुछिएकी पार्टीकी समानुपातिक सांसद गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सहकारीको बचत अपचलनमा मुछिएकी सांसद बस्नेतलाई राज्यका निकायले गर्ने निष्पक्ष छानबिनमा सहयोग गर्न निर्देशन दिएको हो ।

नवलपरासी पूर्वमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १६ करोड ५८ लाख ९२ हजार रुपैयाँभन्दा बढी रकम ठगी प्रकरणमा उनी मुछिएकी छिन् । सहकरीको बचत अपचलनमा मुछिएपछि वैशाख १४ गते सांसद बस्नेतसहित ८ जनाविरुद्ध जिल्ला अदालत नवलपुरले पक्राउ पुर्जी जारी गरेको छ ।

‘राप्रपाकी प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएकोमा सो सम्बन्धि छानबिनमा सघाउ पुर्याउन गीता बस्नेतलाई निर्देशन दिइएको छ । साथै, उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निश्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धि त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरुमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ’ पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठका अनुसार बस्नेत अहिले पार्टी नेताहरुको सम्पर्कमा समेत छैनन् ।

‘हाम्रो पार्टीको सांसद सहकारी प्रकरणमा मुछिएको भनेर समाचारमा आयो,’ श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘ पार्टी बैठकमा यस विषमा छलफल भएको छ ।ऽ सुशासनको पक्षमा कठोर रुपमा उभिँदै आएको राप्रपा सांसद सहकारी ठगीमा मुछिएपछि हामीले केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट निर्णय गरेर निष्पक्ष छानबिनका लागि सघाउन उहाँलाई निर्देशन दिएका छौं।’

यस्तो विषयमा राप्रपाले नजरअन्दाज गरेर नबस्ने श्रेष्ठले प्रष्ट पारे । बैठकले बस्नेतलाई अनुसन्धानका लागि राज्यलाई सघाउन र बस्नेतका साथै सहकारी ठगी प्रकरणमा जोडिएका मन्त्री, नेता सबैको निष्पक्ष छानबिन गर्न राप्रपाले माग गरेको श्रेष्ठले बताए ।

समाचार आएपछि आफ्नो पार्टीकी सांसदलाई छानबिनमा सघाउन र अनुसन्धान गर्न सरकारलाई माग गरिरहँदा सरकारमा रहेका मन्त्रीलाई भने गिज्याएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम मन्त्री डिपी अर्याल सहकारी ठगीमा मुछिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपा लगायतले उनीहरुमाथि छानबिनको माग गरिरहे पनि सत्तापक्ष बचाउमा उत्रिएको छ भने आरोपी मन्त्रीहरुले राजीनामा दिन नपर्ने बताइरहेका छन् ।

सांसद बस्नेत जोडिएको सहकारी ठगीमा नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था, चितवनको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीमा पनि एउटै समूहको संलग्तना रहेको पाइएको छ ।

कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १६ करोड ५८ लाख ९२ हजार रुपैयाँभन्दा बढी, चितवनको सनराइज सहकारीबाट बचतकर्ताको २० करोड रुपैयाँ भन्दा बढी र बर्दियाको नमस्ते सहकारीबाट ७ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।

बचतकर्ताले दिएको उजुरी र अहिलेसम्मका प्रारम्भिक अनुसन्धानले बस्नेतको समेत संलग्नता देखाएको छ । उनको समेत संलग्ना देखिएको र उनीसहित ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

राप्रपाले बर्दियाबाट गीता बस्नेतलाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको थियो । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा मनोनित गरेका थिए । आरोपित बस्नेतलाई सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ छ । उनी प्रहरीको फरारको सूचीमा रहेको बताइएको छ ।


क्लिकमान्डु