अर्घाखाँची सिमेन्टले ८ महिनामा गर्यो साढे ३ अर्बको कारोबार, निर्यात बढ्दो क्रममा
काठमाडौं । अर्घाखाँची सिमेन्टले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ३ अर्ब ३६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ५ अर्ब ७७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ७ अर्ब ३७ करोड ९० लाख रुपैयाँको व्यापार कम्पनीले गरेको थियो ।
कम्पनीको कारोबारको तथ्याङ्क हेर्दा पछिल्लो दुई वर्षमा व्यापार घट्दै गएको देखिन्छ । सन् १९९८ मा डाइनेष्टि इन्डष्ट्रिज नेपालको नाममा स्थापना भएको कम्पनी सन् २०११ मा अर्घाखाँची सिमेन्ट प्रालिमा परिणत गरेको थियो । त्यस्तै कम्पनीले सन् २०२१ मा मात्रै पब्लिक कम्पनी बनाएको छ । कम्पनीले क्लिङ्कर र ग्रान्डिङ सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग वार्षिक १० लाख मेट्रिक टन क्लिकर र ८ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न सक्ने क्षमतामा सञ्चालन भइरहेको छ ।
कम्पनीमा तीनवटा व्यवसायिक घरानाका ८ जना सदस्यको स्वामित्व छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत र केडिया ग्रुपको १७.५ प्रतिशत र भारतीय कम्पनी उमा सिमेन्ट इन्टरनेशनलको १७.५ प्रतिशत स्वामित्व छ।
कम्पनीले उत्पादन गरेको ओपीसी र पीपीसी सिमेन्ट अर्घाखाँची ब्राण्डमा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब ६३ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ७८ करोड ३० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८४ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले आन्तरिक बजारसँगै भारतमा पनि सिमेन्ट निर्यात गर्दै आएको छ । सरकारले ५० करोडभन्दा बढीको निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत प्रोत्साहनस्वरुप अनुदानको व्यवस्था गरेसँगै कम्पनीले भारतमा सिमेन्ट उच्च मात्रामा निर्यात गर्दै आएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा गरेको व्यापारमध्ये निर्यातको हिस्सा १२ प्रतिशत छ । सन् २०२३ मा निर्यातको हिस्सा ६ प्रतिशत थियो । पछिल्ला दिनहरुमा निर्यात बढ्दै गए पनि आन्तरिक बजारमा सिमेन्टको मागमा कमी आउँदा कम्पनीको व्यापारमा असर पुगेको उल्लेख छ ।