पेफाको तेस्रो प्रतिवेदन भन्छः नेपालसँग सार्वजनिक वित्त व्यवस्थापनमा बलियो कानुनी तथा संस्थागत संरचना



काठमाडौं । नेपालसँग सार्वजनिक वित्त व्यवस्थापनमा बलियो कानुनी तथा संस्थागत संरचना रहेको सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता (पेफा)को मूल्यांकन प्रतिवेदनले देखाएको छ । तर, हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्ने वित्तीय र बजेट परिणामहरूलाई सुदृढ गर्न भने थप सुधार आवश्यक रहेको प्रतिवेदनले औंल्याएको हो ।

मंगलबार नेपाल सरकार र विकास साझेदारले परिस्थिति मूल्यांक प्रतिवेदन सार्वजनिक गरेका हुन् । नेपाल सरकारले विकास साझेदारसँगको सहयोगमा पेफाको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै दीगो मध्यमकालीन खर्च संरचना, वित्त कानुनको पुनःक्यालिब्रेसन, खर्चको पुनः प्राथमिकीकरण तथा जोखिम व्यवस्थापनमार्फत् वित्तीय विश्वसनीयता पुनर्स्थापित गरी नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सकिने बताइएको छ ।

यस्तै अक्षमता घटाएर तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माण गरेर सार्वजनिक लगानी दक्षतामा सुधार गर्नुपर्ने तथा वित्त कानुन कार्यान्वयन तथा जवाफदेहिता प्रवद्र्धनमार्फत् वित्तीय पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न सकिने सुझाव प्रतिवेदनको छ ।

सरकार र दाताले गरेको मूल्यांकन पेफा फ्रेमवर्कमा आधारित छ। मूल्यांकनकै आधारमा सरकारले मध्यमकालीन सार्वजनिक वित्त सुधार रणनीति र कार्ययोजना तयार पार्नेछ ।


क्लिकमान्डु