इलामको माङ्सेबुङ–५ मा स्वतन्त्र उम्मेदवारले १ हजार ३२ मत पाउँदा कांग्रेस एमालेको ६९ भोट कटेन
फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ । २७ हजार ६ सय १५ मतगणना गर्दा सुहाङ ३ हजार ७ सय ५४ मतान्तरले अगाडि छन् । नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले छ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मतसहित चौथो सीमित छन् ।
माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् ।
सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरेका छन् । रास्वपाका लिम्बूले तीन मत पाए । सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन् । अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।