इलाममा एमाले उम्मेदवार सुहाङको अग्रता, रास्वपाले कति पायो मत ?



काठमाडौं । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन् । आइतबार मध्यरातिसम्मको मतगणना अनुसार सुहाङले १ हजार मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पारेका छन् ।

सुहाङको ३७८३ मत आउँदा खड्काले २७८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ मत ल्याएका छन् । जसलाई धरानका मेयर हर्क साम्पाङको समर्थन रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने आइतबार राति १० बजेसम्म ५६१ मत प्राप्त गरेका छन् । हालसम्मको मतगणनामा मिलन चौथो स्थानमा छन् ।

इलाम २ बाट गत निर्वाचनमा एमालेबाट निर्वाचित सुवास नेम्वाङको निधनपछि निर्वाचन आयोगले वैशाख १६ गते उपनिर्वाचन गराएको हो । जहाँ एक स्वतन्त्र उम्मेदवारसहित नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी राप्रपा लगायतका दलहरु प्रतिस्पर्धामा छन् ।

सुहाङ नेम्वाङ भने दिवंगत सुवास नेम्वाङका छोरा हुन् । यस्तै हाल कांग्रेसबाट उम्मेदवार बनेका खड्का नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए । यस्तै माओवादी निकट पत्रकारको छवि बनाएका मिलन लिम्बू निर्वाचनको संघारमा उम्मेदवारी दिएसँगै रास्वपा प्रवेश गरेका थिए ।

आइतबार दिउँसो सुरु गरिएको मतगणनामा प्रारम्भिक चरण नेपाली कांग्रेसका उम्मेदवार खड्काले अग्रता कायम गरेकोमा विस्तारै एमालेका उम्मेदवार सुहाङले अग्रता लिन थालेका हुन् ।

आइतबार नै बझाङमा पनि प्रदेशसभाको उपनिर्वाचन गरिएको छ । जहाँ हालसम्मको मतगणना अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ३४९७ मतसहित अगाडि छन् । यस्तै कांग्रेसका अभिषेक सिंहले २८२० मत पाएका छन् ।


क्लिकमान्डु