भारतमा चिया निर्यातका लागि जिटूजीमार्फत सहजीकरण गरिदिन सरकारसँग माग



काठमाडौं । चिया व्यवसायीहरुले नेपालको चियामा विषादीको मात्रा उपस्थित रहेको बहानामा भारतले निर्यातमा अवरोध सिर्जना गरेको औंल्याएका छन् ।

इलामको सूर्योदय नगरपालिकास्थित सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाली चियामा भारतको अवरोध भएको जनाएको हो । एसटीपीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले नेपालको चियामा विषादी रहेको र गुणस्तरसमेत कमजोर रहेको आरोप लगाउदै भारतको वेष्ट बङ्गाल सरकारले नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गरेको जानकारी दिए ।

‘विभिन्न कारण देखाएर भारत सरकारले नेपाली चियाको आयात बन्द गर्ने नीति लिएको छ, इलाममा उत्पादित चियाको गुणस्तर उत्कृष्ट छ,’ श्रेष्ठले भने, ‘इलामबाट चोरी निकासी भएर गएको चिया भारतमा ब्राण्डेड हुने तर इलाममै बनेको चाहीँ विषादी हुन्छ र ?’

एसटीपीका सचिव गोपाल कट्टेलले पछिल्लो समयमा भारत सरकारले नेपालबाट निर्यात हुने चियामा विशेष प्रकारको प्रोटोकल लागू गरेको बताए । पछिल्लो समयमा नेपालको चिया भारतीय बजारमा जान नसकेको भन्दै सरकारको ध्यानाकर्षणसमेत उनले गराए ।

नेपालको चियाको ९५ प्रतिशत बजार भारत रहेको अवस्थामा पछिल्लो समय नेपाली चियालाई निरुत्साहित गर्ने काम भइरहेको उनको भनाई छ ।

भारतमा चिया निर्यातमा देखिएको समस्या जिटूजी वार्ता गरेर समाधान खोजिनुपर्ने नेपाली चिया व्यवसायीहरुको भनाइ छ ।

एसटीपीका उपाध्यक्ष अग्निन्द गिरीले चियाको सिजन सुरु हुँदै गर्दा किसान र उद्योगहरु मारमा पर्ने अवस्था आइपरेको बताए । नेपालमा उत्पादित चिया ९५ प्रतिशत भारतीय बजारमा निर्भर रहेको उनले बताए ।

भारतले नेपालको चिया लैजादा पहिले एक वर्षमा एक पटकमात्रै गुणस्तर परीक्षण गर्ने गरेको नियम लगाएको उनले बताए ।

‘अहिले आएर प्रत्येक गाडीको चिया परीक्षणका लागि नमूना पठाएर पास भएपछि मात्रै लान अनुमति दिएको छ,’ गिरीले भने,‘परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट १५/२० दिनमा आउँदा हामीलाई झनै ठुलो घाटा भएको छ । लागत खर्च बढेको छ ।’ चिया वगानहरुमा विषादी पूर्णरुपमा नियन्त्रण भइसकेको उनले दाबी गरे ।


क्लिकमान्डु