माधव नेपाललाई अगाडि राखेर प्रचण्डले भने: यसअघिको एकतालाई जोगाउन सकेनौं, प्रयास जारी नै राख्नुपर्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः वाम एकता हुन सक्ने बताएका छन् ।

सोमबार च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्य रहेको बताए ।

त्यसलाई नै मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गर्दै उनले राम्रो कामका लागि प्रयास जारी राख्ने बताए । कम्युनिष्टहरुको एकतालाई त्यतिबेला जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने बताए ।

‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्‍यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ,’ उनले भने, ‘एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरि नै राख्नुपर्छ ।’

चुनौतिको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम भएको प्रचण्डको भनाइ छ । राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो भएको भन्दै सबैले साथ र सहयोग गर्नुपर्ने उनले बताए ।

‘चुनौतिको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम नै हो । जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ’ दाहालले भने ।

राष्ट्रिय स्वाधिनता, सुदृढिकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको उनलको भनाइ थियो । समाजवाद नै अबको क्रान्तिको बाटो भएको प्रधानमन्त्रीले बताए ।


क्लिकमान्डु