पर्यटन बोर्डको सीईओ बन्न २० जना इच्छुक, बोर्ड भित्रैबाट ५ जनाको आवेदन



काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २० जनाले आवेदन दिएका छन् । पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले १२ दिन अगाडि मागेको आवदेनको अन्तिम दिन बिहीबारसम्ममा बोर्ड भित्रका कर्मचारी ५ जनासहित बाहिरका १५ जनाकाे आवदेन परेको छ ।

पर्यटन बोर्ड स्रोतले क्लिकमान्डुलाई दिएको जानकारी अनुसार पर्यटन बोर्ड भित्रबाट सीईओ बन्न आवेदन दिनेमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, निमित्त निर्देशक लक्ष्मण गौतम, प्रबन्धक नविन पोखरेल, प्रबन्धक श्रद्धा श्रेष्ठ र बरिष्ठ अधिकृत सन्तोष बिक्रम थापाले छन् ।

बोर्डका पूर्व सीईओ डा‍. धनन्जय रेग्मी र दीपकराज जोशीले पनि आवेदन दिएका छन । रेग्मी निवर्तमान सीईओ हुन् । उनको कार्यकाल १६ माघबाट सकिएपछि रिक्त रहेको पदमा बोर्डले खुला प्रतिस्पर्धाबाट सीईओ छनोट गर्न लागेको हो । अर्का पूर्व सीईओ जोशी नेपाल उद्योग परिसंघ (सीएनआई)को महाप्रवन्धक पदमा कार्यरत छन् ।

बोर्ड बाहिरबाट पर्यटन व्यवसायी राजाराम गिरी, ज्ञानेश्वरप्रसाद महतो, लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानेन राई, दीपक बस्ताबोटी, रामचन्द्र सेडाईंले आवेदन दिएका छन् ।

अरु आवेदकमा विजय नेपाल, पदम वान, ठाकुर देवकाेटा, राजाराम केसी, सूर्यबहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, चक्सु मल्ल र कमल दाेधारी रहेका छन् ।

पर्यटन बोर्डमा आवेदन दिएका आवेदकले अब छनोट समितिसमक्ष आफ्नो प्रस्तुतीकरण दिनेसहितको प्रक्रिया पूरा गर्नुपर्ने छ । बोर्डको सीईओ छनोट गर्न तीन जनाको उपसिमिति बनेको छ । सोही समितिले ३ जनाको नाम बोर्ड सञ्चालक समितिलाई सिफारिश गर्छ । सिफारिश भएका अन्तिम ३ जनाबाटै बोर्डले सीईओ नियुक्त गर्ने छ ।


क्लिकमान्डु